७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

आजदेखि मुग्लिन–काठमाण्डौ सडक दैनिक तीन घण्टा बन्द हुने



काठमाण्डौ ।

चितवनको मुग्लिन–काठमाण्डौ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन सडक बिस्तारका लागि घुम्तीलगायत केही ठाउँमा काटछाँट गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजनाले लेन अनुशासनको पालना गरी गाडी चलाउन आग्रह गरेको छ ।

त्यस्तै गाडी चलाउन रोक लगाएको समयमा एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक गाडीलाई नरोकिने पनि जानकारी दिएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने ठूला गाडी गल्छी–बैरेनी र हलुका गाडी जरेखेतमा रोकिने छन् ।

त्यसैगरी चितवनतर्फ चालिसे र घाटबेँसीमा गाडी रोकिने छन् । विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने गाडीलाई मझिमटार र चरौंदी बजारमा रोकिने आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०८१ आइतबार ००:००  ९ : ३३ बजे