हरि अधिकारी, कपिलवस्तु ।
सामाजिक उद्यमशीलता मार्फत वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर सिद्धार्थ सामाजिक विकास केन्द्रले वाणगंगा ४ मा कागज उद्योग संचालनमा ल्याएको छ। संस्थाद्धारा प्रवर्धित यस उद्योगले समुदायमा रोजगारी सिर्जना गर्नुका साथै फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य राखेको छ।
भारतको हरिद्वारबाट आएका दक्ष प्रशिक्षकहरूले स्थानिय युवाहरूलाई तालिम प्रदान गरेपछि कागज उत्पादन सुरु भएको हो। उद्योगमा गणेश चौधरी, पार्वती पौडेल र रोशनी चौधरीले दैनिक रूपमा कागज बनाउने कार्य गरिरहेका छन्।
कागज उत्पादनका लागि पुराना कागज, रुई, आरारोट र नुरीको मिश्रण प्रयोग गरिन्छ। कच्चापदार्थलाई प्राविधिकहरूले सन्तुलित मात्रामा मिसाएर तयार पारेपछि मेसिनमा प्रोसेस गरिन्छ। ३३।२६ इन्च साइजका कागज दैनिक ८४ थान उत्पादन हुँदै आएको छ। कागजलाई २–३ दिन सुकाएपछि आइरन गरेर आवश्यक आकारमा कटिङ गरिन्छ।
उद्योगबाट उत्पादित कागजबाट विभिन्न प्रकारका झोला तयार हुँदै आएका छन्। तयार हुने झोलाहरूमा औषधी पाउच, फेन्सी झोला, कस्मेटिक झोला, रेकर्ड फाइल, र अन्य दैनिक प्रयोजनका झोलाहरू समावेश छन्। संस्थाले विभिन्न चरणमा महिलाहरूलाई झोला बनाउने तालिम प्रदान गरिएको छ, जसका कारण अहिले दैनिक १२ जना महिलाले झोला उत्पादनमा काम गरिरहेका छन्। राधा थारु, झोला बनाउने मध्ये एक सदस्य हुन् । उनी भन्छिन्, म दैनिक ५० झोला बनाउँछु। झोलाको साइजअनुसार समय लाग्छ, तर यो कामबाट राम्रो आम्दानी भइरहेको छ।
महिला स्वरोजगार र वातावरण संरक्षणमा योगदान
सिद्धार्थ सामाजिक विकास केन्द्रकी अध्यक्ष सूर्यकुमारी शाहीका अनुसार, यो अभियानले सामाजिक उद्यमशीलतालाई प्रवर्धन गर्नेछ । स्थानीय महिलाहरूलाई स्वरोजगार बनाउने र प्लास्टिक झोलाको प्रयोगलाई घटाउँदै वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य राखेको छ। वाणगंगा नगरपालिकासँग सहकार्य गरेर फोहोरमैला व्यवस्थापन र महिला सशक्तीकरणलाई अगाडि बढाउन हामी प्रतिबद्ध छौं, अध्यक्ष शाहीले बताइन्।
नगरपालिका र विभिन्न निकाय सँगको सहकार्य
नगरपालिकाले सरसफाई अभियानलाई प्रभावकारी बनाउन प्लाष्टिकको प्रयोगलाई न्यूनिकरण गर्न कागज उद्योगलाई सहयोग पुर्याउने भएको छ। नगर प्रमुख चक्रपाणी अर्यालले पनि यो अभियानले नगरपालिकाको सरसफाइ र वातावरणीय सतर्कता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। उद्योगलाई अझ विस्तार गरेर थप रोजगारी सिर्जना गर्ने र उत्पादनको दायरा बढाउने योजना रहेको छ। महिलाहरूलाई निरन्तर तालिम प्रदान गर्दै उद्योगलाई टिकाउ बनाउने लक्ष्य राखिएको सिद्धार्थ सामाजिक विकास केन्द्रकी कोषाध्यक्ष शोभा आचार्यले मायादेवी अनलाइनलाई बताइन् । यस अभियानमा सरोकारवाला सवैकाे सहयोग र साथ हुने विश्वास लिइएको छ ।
सिद्धार्थ सामाजिक विकास केन्द्रले कागज उद्योगको माध्यमबाट समुदायको आर्थिक उन्नति, वातावरण संरक्षण र महिला सशक्तीकरणको पक्षमा नमुना प्रस्तुत गरेको छ। यो प्रयासले दीर्घकालीन रूपमा समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
प्रतिक्रिया