१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

‘घुम्न जाऊँ बर्दिया’ अभियान शुरू



बर्दिया ।
लुम्बिनी प्रदेशको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बर्दियालाई लक्षित गरी प्रदेश सरकारले ‘घुम्न जाऊँ बर्दिया’ अभियान शुरू गरेको छ । ठाकुर बाबा नगरपालिकाको सहकार्यमा प्रदेश सरकारले अभियान शुभारम्भ गरेको हो ।

प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई समृद्धिको आधारको रुपमा लिएको छ । यसअन्तर्गत आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न बर्दिया जिल्लालाई लक्षित गरेर अभियान चलाइएको हो ।

हिजोदेखि शुरू भएको अभियानको उदघाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासको लागि ध्यान दिएको र त्यसको शुरूआत बर्दियाबाट गरिएको बताउनुभयो ।

देशका विभिन्न राष्ट्रिय निकुञ्जभन्दा फरक जैविक विविधता बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको छ । यहाँ एकै दिनमा बाघ, गैँडा र जङ्गली हात्तीको बथानका साथ साथै चित्तल, जरायो, बाह्रसिङ्गे र विभिन्न प्रकारका चराचुरुङ्गी अवलोकन गर्न पाइन्छ ।

प्रकाशित मिति : ५ पुस २०८१ शुक्रबार ००:००  १० : ५५ बजे