६ पुस २०८१, शनिबार | Sat Dec 21 2024

एनपीएलमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बने ललित



काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्टस्‌का ललित राजवंशी सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा चढेका छन् ।

बिहीबार भइरहेको एनपीएलको दोस्रो क्वालिफायरमा कर्णालीविरुद्ध २ विकेट लिएपछि राजवंशी सुदूरपश्चिमका स्कट क्रिस्टोफर कुगलेइनसँगै सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् । दुवैले समान १६/१६ विकेट लिएका छन् ।

कुगलेइनले ८ खेलमा १६७ रन दिँदा ६.४६ को इकोनोमीमा १६ लिएका छन् । ललितले ९ खेलमा १९८ रन दिँदा ५.५० को औसतमा १६ विकेट नै लिएका छन् । बढी रन दिएको आधारमा सूचीमा ललित दोस्रो स्थानमा छन् । ललितले सर्वाधिक ४ मेडन राखेका छन् ।

कर्णालीलाई हराएर फाइनल पुगे सबैभन्दा बढी विकेटको टुंगो अन्तिम खेलबाट लाग्नेछ । जनपकुरलाई नै पराजित गर्दै सुदूरपश्चिम रोयल्स बुधबार फाइनलमा पुगेको थियो । फाइनल शनिबार हुनेछ ।

बढी विकेट लिनेमा अन्य खेलाडीमा चितवनका सोहेल तनवीर १४, रिजन ढकाल १३, करण केसी १२ विकेटका साथ क्रमशः छन् ।

प्रकाशित मिति : ४ पुस २०८१ बिहिबार ००:००  ३ : ३४ बजे