३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

जीतपुर-चारनम्बर क्षेत्रमा होटल मझेरी सञ्चालन, लगानी १५ करोड



मायादेवी अनलाइन, बाणगंगा ।
करिब १५ करोड लगानीमा कपिलवस्तुको बाणगंगा नगरपालिकामा होटल मझेरी संचालनमा आएको छ । जनप्रतिनिधि छवीलाल रेश्मी मगर र होटल ब्यवसायी पर्शुराम थारुले नगरपालिकाको वडा नम्बर १ चार नम्बर जितपुरमा होटल मझेरी संचालनमा ल्याएका हुन् ।

करिब एक सय जना अतिथिहरुलाई स्वागत गर्न सकिने गरी होटल संचालनमा ल्याइएको वडा नम्बर ४ का वडा अध्यक्ष तथा तथा संचालक छविलाल रेश्मी मगरले जानकारी दिए ।

उनका अनुसार होटल मझेरी यस क्षेत्रकै सुविधा सम्पन्न होटल रहेको छ । ७ तला रहेको होटलमा एक रातको लागि एक हजारदेखि १० हजारसम्मका सुविधासम्पन्न कोठाहरु रहेका छन् । संचालक रेश्मीले भने, ‘धेरै अध्ययन गरेर होटल संचालनमा ल्याएको छ, यहाँ स्टारलेभलको सुविधा हुनेछ । होटलका रुमहरु विदेशमा बसेजस्तो अनुभूति हुनेगरी डिजाइन गरिएको छ । अर्थात् स्टार मान्यता नभए पनि थ्रीस्टार, फाइभस्टार लेभलका होटलमा पाइने लिभिङ सुविधा दिने छौँ । लुम्बिनी र तिलाराकोटसम्मका आन्तरिक र बाह्य पर्यटकलाई समेत यहिँ राख्न सकिने छ ।’

उनले त्यहिअनुसार लुम्बिनी विकास कोष, त्यससम्बद्ध संस्थाहरुसंग पनि संयोजन भएको बताए । अब लुम्बिनी, कपिलवस्तु आएका कुनै पनि अतिथिले बास बस्न अन्य स्थानमा डुल्न पर्दैन, रेश्मी थप्छन्, ‘अब टुर प्याकेजमार्फत् पनि होटलको प्रचार गरिनेछ । नेपाल र भारतका ठाउँमा लामो अध्ययनपछि यस्तो होटलको परिकल्पना गरिएको हो । यसले यस क्षेत्रमा पर्यटन प्रवद्धन गर्न टेवा पुग्ने विश्वास गरेको छु ।’

राजापापानीमा थारु भिलेज संचालन गरिरहेका पर्शुराम थारुले रेश्मी र आफ्नो लगानीमा होटल संचालन भएको बताउँदै यहाँ स्थानीय रैथाने खानाको रुपमा रहेको थारु परिकारलाई पनि प्राथमिकतामा राख्ने बताए । राजापानी र थारु भिलेजमा एकै नासको सुविधा दिइने उनले बताए ।

राजापानी र चार नम्बरका होटलमा माछा, लोकर कुखुरा, हाँसका परिकारको साथमा पारिवारिक जमघट हुने बातावरण सिर्जना गर्ने थारुको भनाई छ । संचालक रेश्मीका अनुसार होटलमा अहिले ३२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । होटलमा सुविधा सम्पन्न २८ कोठाहरु छन् । भिभिआइपी र भिआइपी कोठामा छिरेपछि आफै पकाएर खाना खान सकिने छ भने सयन कक्ष पनि रहेको छ ।

यसका साथै १ सय जनासम्म अट्ने गरी मिटिङ हल पनि बनाइएको छ । सात तलामाथि रुफटप रेस्टुरेन्ट रहने छ भने त्यहाँबाट बाणगंगा नगरपालिकाभरलाई नियाल्न सकिने छ । होटलको आइतबार उद्घाटन गरिने र उद्घाटनका अवसरमा १५५ छुटको ब्यवस्था गरिएको संचालक बताउँछन् । होटलमा प्रशस्त पार्किङ सुविधा पनि रहेको छ ।

कोरोनापछि धेरै ब्यवसायी पलायन भएको देखेपछि स्वदेशमै केहि गर्नुपर्छ भन्ने प्रेरणा बोकेर मोटो लगानीमा होटल संचालनमा ल्याइएको संचालकद्धय बताउँछन् ।

होटलको संचालनपछि निकै राम्रो प्रतिक्रिया आइरहेको उनीहरुको भनाई छ । होटलमा विद्यूतीय सवारी चार्ज गर्ने ब्यवस्था पनि मिलाइएको छ ।

यो आफ्नो लागि ठूलो चुनौति रहेपनि सबैबाट सहयोग मिल्ने रेश्मीले विश्वास गरे । खान र बस्नको लागि मात्र नभएर दैनिक खाजानास्ताको लागि बाहिरी होटलहरुमाभन्दा महंगो नभएको उनले जानकारी दिए ।

होटल मझेरीको संचालनपछि यस क्षेत्रमा अब बिभिन्न पाहुनाहरुलाई राख्न सकिने बताउँदै सरोकारवालाले खुसी ब्यक्त गरेका छन् । होटलले बाणगंगा नगरपालिकाकै गरिमा बढाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ पुस २०८१ बुधबार ००:००  १२ : ३६ बजे