काठमाण्डौ ।
बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी वर्षाले आलुको बेर्नामा क्षति पुर्याएपछि किसानले दोस्रो पटक रोपेका छन् ।
गएको कात्तिक तेस्रो हप्ताको बेमौसमी वर्षाले आलुमा क्षति पुर्याएको थियो । दोस्रो पटक आलु रोपेका किसानले उत्पादन राम्रो हुनेमा भने शङ्का गरेका छन् । चिसो शुरू भएसँगै आलुलाई ‘पाला’ ले असर गर्ने अनुमान किसानको छ ।
कालाबञ्जरका नरेन्द्र कुम्हारले दुई लाख रुपैयाँ खर्च गरेर फेरि आलु रोपेको बताउनुभयो । पहिले आलु रोप्दा तीन लाख रुपैयाँभन्दा धेरै खर्च भएको उहाँले सुनाउनुभयो । आफन्तसँग सापट र ऋण मागेर आलु रोपेको किसान कुम्हारको भनाइ छ । यस्तै रमेश मौर्यले पहिले रोपेको आलु बेमौसमी वर्षाका कारण नउम्रिएपछि सहकारीबाट ऋण लिएर फेरि रोपेको बताउनुभयो ।
हिरमिनिया आलुको पकेट क्षेत्र मानिन्छ । यहाँका सबै किसानले आलुखेती गर्छन् । बेमौसमी वर्षाले आलु बारी डुवान भएको थियो । तीन दिनसम्म डुबानमा परेपछि आलुको बीउ सबै कुहिएको थियो ।
जेनेरेटर लगाएर पानी फालेका किसानले बेर्ना उम्रिने आशा गरेका थिए । केही किसानको थोरै बेर्ना उम्रिए पनि धेरैजसोको उम्रिएन । आलु फेरि रोप्न पैसाको जोहो गर्न नसक्नेले तोरी, मुला, भाजी, पालक, मेथी, चम्सुरलगायतका तरकारी लगाएका छन् ।
डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्रले किसानले लगाएको आलुको क्षतिपूर्तिको माग गरेको बताउनुभयो । रासस
प्रतिक्रिया