३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

इजरायली आक्रमणः गाजामा ज्यान गुमाउनेको संख्या ४५ हजार पुग्यो



एजेन्सी ।

एक वर्षभन्दा लामो समयदेखि जारी इजरायली आक्रमणमा गाजामा ४५ हजार मानिसको मृत्यु भएको छ। ज्यान गुमाउनेमा १४ हजार ५०० भन्दा बढी बालबालिका रहेको संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूले जनाएका छन्।

अझै हजारौँ मानिस शव भग्नावशेषमा पुरिएको आशंका गरिएको छ। युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलका अनुसार मानवीय संकट थप बढ्दै गएको छ। उनका अनुसार गाजामा झण्डै ११ लाख बालबालिकालाई तत्काल संरक्षणको आवश्यकता छ। इजरायलले हमास लक्षित आक्रमणलाई विद्यालय तथा शरणार्थी शिविरहरूमा केन्द्रित गर्दा सर्वसाधारणको ज्यान गइरहेको छ।

पछिल्लो २४ घण्टामा झण्डै १०० प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाले उत्तरी गाजाको बेइत लाहियादेखि दक्षिणको रफाहसम्म हवाई आक्रमण जारी राखेको छ। संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले हवाई आक्रमणका कारण खाद्य आपूर्तिमा संकट आएको भन्दै शिविरमा चरम भोकमरीको अवस्था रहेको बताएको छ।

गत वर्षको अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेयत इजरायली सेनाले निरन्तर गाजामा बम वर्षा गराइरहेको छ।

प्रकाशित मिति : २ पुस २०८१ मंगलबार ००:००  ९ : ५० बजे