२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024

लुम्बिनी संग्रहालय संरक्षण परियोजना उद्घाटन



काठमाडौं ।
अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइकल हार्करले लुम्बिनी संग्रहालय संरक्षण परियोजनाको उद्घाटन गरेका छन् ।

संग्रहालयमा रहेका प्राचीन कलाकृतिको अमूल्य संग्रहको सुरक्षण, अभिलेखन र संरक्षण गर्न दूतावासले राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी)मार्फत करिब सवा तीन करोड रुपैयाँको अनुदान बुद्ध फाउन्डेसनलाई प्रदान गरेको छ ।

उक्त अनुदानले अत्याधुनिक संरक्षण प्रयोगशालाको स्थापना पनि गर्नेछ । यसले पुरातात्विक संरक्षणको एउटा क्षेत्रीय हबको सृजना हुने आशा दूतावासले लिएको विज्ञप्तिमा उल्लेख छ ।

‘यस संरक्षण प्रयोगशालाको स्थापना लुम्बिनीका लागि एउटा ऐतिहासिक कदम हो जसले यो थलोलाई पुरातात्विक अनुसन्धान तथा संरक्षणको क्षेत्रीय केन्द्रमा रूपान्तरण गर्दछ’ र्हाकरले सो अवसरमा भने ।

‘यस परियोजनाले प्रतिस्थापन गर्नै नसकिने कलाकृतिको सुरक्षा गर्ने मात्र नभई नवप्रवर्तन र सहकार्यका अवसरहरूको सृजना पनि गरी नेपाललाई सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा एक अगुवाका रूपमा स्थापित गर्नेछ’ उनले भने ।

इसापूर्वको छैटौँ शताब्दीदेखि इस्वी संवत्को तेस्रो शताब्दीसम्मका ३०० भन्दा बढी कलाकृति रहेको लुम्बिनी संग्रहालयमा त्यहाँ उत्खनन गरिएका पक्की माटोका प्रतिमा, ढुङ्गाका मूर्ति, सिक्का र अन्य अवशेषहरू संग्रहित छन् ।

‘यो परियोजना यी सांस्कृतिक निधिको संरक्षणमा एउटा रूपान्तरणकारी कदम हुनेछ । संरक्षण स्थलको सीमितताका कारण हाल यी कलाकृतिमध्ये धेरै वटा काठमाडौँस्थित राष्ट्रिय संग्रहालयमा भण्डारण गरिएका छन्’ दूतावासले भनेको छ ।

यस पहलले पुरातात्विक स्थलमा रहेका कलाकृतिको अध्ययन, संरक्षण र सुरक्षित भण्डारणलाई सम्भव बनाउने आशा लिइएको छ । राजदूत सांस्कृतिक संरक्षणका कोष ९एएफसीपी०ले विकासोन्मुख देशमा सांस्कृतिक सम्पदाको संरक्षणका लागि प्रत्यक्ष अनुदान सहयोग प्रदान गर्दै आएको छ ।

पछिल्ला दुई दशकमा अमेरिकी दूतावासले नेपालमा २८ वटा सांस्कृतिक सम्पदा पुनस्र्थापना परियोजनाहरूका लागि ६१ करोड रुपैयाँभन्दा बढीको कोष प्रदान गरेको छ ।

बुद्ध जन्मस्थलमा अवस्थित लुम्बिनी संग्रहालयले विश्वका सबैभन्दा महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक स्थलमध्ये एक अर्थात् लुम्बिनीमा रहेका प्राचीन कलाकृतिको संरक्षण तथा प्रदर्शन जनाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१ बिहिबार ००:००  ६ : ३३ बजे