२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

प्रहरीले रवि लामिछानेलाई फेरि पोखरा पुर्‍यायो



काठमाण्डौ ।

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई फेरि पोखरा पुर्‍याएको छ । पर्सामा बयान सकिएपछि लामिछानेलाई आज काठमाण्डौ विमानस्थल हुँदै पोखरा पुर्‍याएको प्रहरीले जनाएको छ ।

सहकारी ठगीको आरोपमा कात्तिक २ गते पक्राउ गरेर पोखरा पुर्‍याइएका लामिछानेसँग प्रहरीले कास्की, रुपन्देही, चितवन, काठमाण्डौ र पर्सामा बयान लिइसकेको छ । लामिछानेमाथि सहकारी ठगीसहित सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दामा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कास्कीमा अनुसन्धान अन्तिम चरणमा पुर्‍याएर प्रतिवेदन तयार गर्ने काम भइरहेको छ ।

सङ्गठित अपराधको अनुसन्धानका लागि ९० दिनसम्म हिरासतमा राख्न पाइने कानूनी व्यवस्था छ । लामिछानेकै आरोपसँग जोडिएका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको ९० दिन पुग्ने भएकोले पुस ६ गतेभित्र कास्की अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्छ । प्रहरीले प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा अघि बढाउँछ ।

लामिछाने संलग्न रहेको गोरखा मिडिया नेटवर्क प्रालिमा सहकारीहरूबाट रकम लगेर अपचलन गरेको र त्यसमा लामिछाने पनि संलग्न भएको आरोप लागेको छ ।

संसदीय छानबिन समितिको प्रतिवेदनले लामिछाने जिम्मेवार कार्यकारी भूमिकामा रहेको समयमा टेलिभिजनको काममा सहकारीबाट लगेको रकम परिचालन भएको देखिएको भन्दै कारबाहीको सिफारिश गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

प्रकाशित मिति : २६ मंसिर २०८१ बुधबार ००:००  ६ : ०१ बजे