७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

कोइली बनगाई-तौलिहवा बुद्धमार्गमा सार्वजनिक सवारी सञ्चालनमा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको कोइली बनगाई तौलिहवा बुद्धमार्गमा सार्वजनिक सवारी सञ्चालनमा ल्याइएको छ ।

बाणगंगा नगरको पश्चिमी क्षेत्रका नागरिकको सदरमुकाम पुग्ने प्रमुख गन्तव्य रहेको यस मार्गमा सवारी सञ्चालनमा ल्याइएको हो ।

यो सडकखण्डमा सार्वजनिक सवारी सञ्चालन हुन थालेपछि बाणगंगा नगरपालिका हुँदै कपिलवस्तु नगरपालिकाका पश्चिम भेगका नागरिक बढी लाभान्वित हुनेछन् । यसका अलवा यो मार्गले विश्व सम्पदा सूचिमा सूचिकृतको अवस्थामा रहेको बुद्धको क्रिडास्थल तिलौराकोट, कुदान, गोटिवा, दक्षिण एसियाको ठूलो मानव निर्मित जगदीशपुर ताल, हिन्दुहरुको आस्थाको केन्द्र लक्ष्मणघाट पुग्न सकिन्छ ।

साथै यो मार्गले सदरमुकाम तौलिहवा हुँदै भारतीय सीमा खुनुवासम्म पुग्न सकिन्छ ।

यहाँ प्राचीन कपिलवस्तु यातायात समितिले विङ्गर सञ्चालन गरेको हो ।

सार्वजनिक सवारी सञ्चालन पूर्व भएको एक कार्यक्रममा बोल्दै महिला नेतृ र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष गीता अन्जानले लामो प्रयासका बीच बुद्धमार्गमा सार्वजनिक यातायात सञ्चालन भएको बताइन् ।

दुई देशीय मार्ग रहेको यस सडकले कपिलवस्तुसँगै अर्घाखाँचीलाई समेत प्रत्यक्ष जोड्ने हुँदा यसको महत्व विशाल रहेको उनले जनाइन् ।

अर्घाखाँचीका कृषि उत्पादनलाई सिधै भारतीय बजारसम्म लैजानका लागि बुद्धमार्ग महत्वपूर्ण रहेको उनले बताइन् ।

तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले सुठौली भन्सारमा प्लान्ट क्वारेन्टाइन कार्यालय स्थापना गरेको स्मरण गर्दै अब बुद्धमार्ग हुँदै कृषि उत्पादनलाई भारतीय बजारसम्म निर्यात गर्न सहज हुने उनको विश्वास थियो ।

यो सडकमा सार्वजनिक यातायात सञ्चालनका लागि लामो प्रयास हुँदै आएपनि सार्थकता पाउन सकेको थिएन् । पटक पटक यो सडकबाट सार्वजनिक यातायात सञ्चालन गर्न दबाब दिदैँ आएको भएपनि बल्ल आएर सार्थकता पाएको पत्रकार मोहन बेल्वासले बताए ।

पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष समेत रहेका बेल्वासेले बुद्धमार्गमा सार्वजनिक यातायात सञ्चालनका लागि केही पक्ष विरोधमा रहदैँ आएको स्मरण गरे । जनताको सहज हिडडूललाई प्रभावित पार्ने काम कुनैपनि हिसाबले ठीक नभएको उनले जनाए ।

कार्यक्रममा प्राचिन कपिलवस्तु यातायात समितिका अध्यक्ष मोहम्मद रफिक, बाणगंगा नगरपालिका वडा नं ७ का वडा सदस्य मुमाराम पाण्डे, नेपाल स्वमसेवक संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेल, युवा समाजसेवी रिषव पौडेल, कृष्ण खनाल लगायतको उपस्थिति रहेको थियो ।

यहाँबाट विहान ठीक साढे १० बजे विङ्गर तौलिहवा छुट्ने छ ।

प्रकाशित मिति : २० मंसिर २०८१ बिहिबार ००:००  १० : ११ बजे