पाल्पा ।
रैनादेवी छहरा गाउँपालिका–४ अमलावास (सुन्तलाबास) की सरस्वती पोखरेलले लगाएका सुन्तलाको बोट सुक्ने, ढुसी लाग्ने, कत्लेरोग, पात, दानामा कालो हुने समस्या देखिएको छ । बगानमा रोग देखिए पनि सरकारका कुनै निकायबाट सहयोग पाउन नसकेको उनको गुनासो छ ।
‘हरेकका बारीमा यस्ता समस्या दोहोरिन थालेका छन्,’ उनले भनिन्, ‘सुन्तला खेती राम्रो हुन्छ तर प्राविधिक सेवा पाउनै कठिन छ ।’
रिब्दीकोट गाउँपालिका–४, भैरवस्थान ढेकुलडाँडाकी सुन्तला किसान कदम थापाको सुन्तला बगानमा बोट सुकेको छ । अघिल्लो वर्ष २५ हजार आम्दानी गरेकी थापाले यस वर्ष एक रुपैयाँ पनि कमाइ नहुने गुनासो गरिन् ।
अघिल्ला वर्ष फलेका सुन्तलाका बोट सुक्दै, पहेंलिएर जाने र दाना नलाग्ने समस्या देखिएको छ । ‘बारीमा सुन्तलाका बोट मर्नेलगायत समस्या छ,’ उनले भनिन्, ‘तर यसको समस्या समाधानका लागि कोही कसैको सहयोग पाउन सकिएको छैन ।’
असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गरेर ५० हजार कमाउने योजना बनाएकी भैरवस्थानकै ढेकुलडाँडाकी अमरकुमारी घर्तीमगरले यस वर्ष २५ हजारमा बगान बेचिसकिन् । छिट्टै पाहेलो हुने, बोट पहेंलिने, सुक्ने, पातमा कालो ढुसी लाग्ने जस्ता समस्या देखापरेको छ । ‘गत वर्षको तुलनामा अझ बढी फल्ला र धेरै आम्दानी गरौंला भन्ने थियो,’ उनले भनिन्, ‘तर रोगका कारण अझ कम भयो । अर्कोतर्फ असिनाले पनि समस्या बनायो ।’
सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएका रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकामा यस वर्ष रोगले सताएको किसानको गुनासो छ । अघिल्लो वर्ष रैनादेवी छहराको अमलाबासका केही किसानको बगानमा फाट्टफुट्ट त्यस्ता समस्या देखिएको थियो । तर यस वर्ष जतासुकै त्यस्तै खालका समस्या देखा परेको छ ।
निस्दी गाउँपालिकाको गल्धा बहपुरमा सयौं बोट सुक्ने भएर नासिने अवस्थामा पुगेको छ । व्यावसायिक किसानसमेत अहिले सुन्तला बिक्री गर्न सक्ने अवस्थामा छैनन् । पाक्ने बेलाको सुन्तला छिट्टै पहेंलो हुने, खाँदा अमिलो हुने, बोट कालै देखिने, बोट सुक्दै जाने र कतिपय किसानको बारीमा औंसा कीराको प्रकोप देखिएको गुनासो गरेका छन् । कतिपय स्थानमा सुन्तला झर्ने र हाँगा सुक्ने समस्या पुरानै भएकाले किसान चिन्तित छन् ।
मुख्य गरी सुन्तला बिक्री गर्ने समयमै पहेंलिने र झर्ने समस्या हुँदा किसानलाई थप चिन्तित तुल्याएको अमलाबासका किसान हुमनाथ कँडेलले बताए । गाउँपालिकाका साथै जिल्लास्तरबाट प्राविधिक सहयोग नपाउँदा किसानले रोगको समाधान गर्न सकेका छैनन् ।
सुन्तलाका पकेट क्षेत्र रिब्दीकोटको भैरवस्थान, कुसुमखोला, पालुङमैनादी, मुझुङ, अमलाबास, सोमादीमा सुन्तला झर्ने, बोट पँहेलिने, हाँगा सुक्ने, बोटमा कालो ढुसीको समस्या देखिएको छ ।
सुन्तलामा विभिन्न खालका समस्या देखिएको भन्दै किसानले गुनासो गरेको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले जनाए । ‘विभिन्न खालका समस्या देखिएका विषयमा जानकारी पाइएको छ,’ उनले भने, ‘तर त्यसलाई समाधान गर्न अहिले सकिँदैन । यति बेला हार्भेस्टिङको समय भएकाले त्यसपछि मात्र देखिएका रोगको निदान गर्नुपर्ने हुन्छ ।’
सुन्तला फूल फुल्ने बेलामा पात झर्ने, पहेंलो हुने र बिस्तारै जरा कुहिएर बोट नै मर्ने समस्या पाल्पाका धेरै स्थानमा बढेको गुनासो आएको उनको भनाइ छ । जिल्लामा गत वर्ष सुन्तला बिक्रीबाट ४६ करोड ७२ लाख रुपैयाँको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा गत वर्ष ८ हजार ८ सय ६१ टन सुन्तला उत्पादन भएको थियो भने १ हजार १ सय ४६ हेक्टर क्षेत्रफल जमिनमा सुन्तला खेती हुँदै आएको छ । किसानले पछिल्लो समयमा सुन्तलालाई नगदेबालीका रूपमा लिएर पकेट क्षेत्र बनाएका छन् ।
जिल्लाका उत्तर फर्केका धेरै भूभागमा पछिल्लो समयमा स्थानीय तह, प्रदेश, जोन कार्यक्रम, सुन्तला जात फलफूल विकास केन्द्रमार्फत बिरुवा लगेर लगाउने किसानको संख्या बढ्दै गएको छ ।
प्रतिक्रिया