कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका मोतिपुर स्वास्थ्य चौकी चप्परगाउँमा एक दिने निशुल्क मानसिक स्वास्थ्य तथा मनोपरामर्श शिविर सम्पन्न भएको छ । मंगलवार भएको शिविरबाट ५१ जनाले सेवा लिएका छन् । सिद्धार्थ सामाजिक विकास केन्द्रको उत्थानशील समुदाय विकासका लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सवलिकरण कार्यक्रम (विलिफ) अन्तर्गत उक्त शिविर आयोजना गरिएको थियो । नगरमै पहिलो पटक विशेषज्ञ चिकित्सकद्धारा मानसिक स्वास्थ्य शिविर संचालन गरेपछि वडावासी लाभान्वित भएका छन् ।
वाणगंगा नगरपालिका उपमेयर रिता कुमारी थारुले पछिल्लो समय वाणगंगा नगरपालिकामा मानसिक समस्या भएका विरामी बढ्दै गएको उल्लेख गर्दै, मानसिक स्वास्थ्य समस्यालाई सामान्य रूपमा लिएर समाधान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले मानसिक समस्या अन्य स्वास्थ्य समस्या जस्तै भएकोले यसबाट आत्तिनु नपर्ने बताउनुभयो ।
नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले यस्तो खालको कार्यक्रम नगरमा पहिलो पटक भएको बताउँदै, यसले समुदायका मानिसहरूको मानसिक स्वास्थ्य सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको र यसले समुदायमा मानसिक स्वास्थ्यप्रति जागरूकता बढाउन मद्दत पु¥याउने बताउनुभयो ।
सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम निर्देशक प्रकाश घिमिरेले समयमा उपचार र परामर्शले मानसिक समस्या छिटो समाधान हुने जानकारी दिनुभयो । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई समुदायले नकारात्मक दृष्टिकोणले हेर्न नहुने बताउदै आवश्यक परामर्श र चिकित्सकको सल्लाहबाट समाधान गर्न सकिने घिमिरेले बताउनुभयो ।
मनोरोग विशेषज्ञ डा. असिम रेग्मीले सवैको घर घरमा यस्ता समस्या हुन सक्ने बताउदै यसलाई समयमै उपचार गरे निको हुने बताउनु भयो । साथै उहाँले शारीरिक स्वास्थ्यका केही समस्या पनि मानसिक समस्यासँग जोडिएका हुनसक्ने भन्दै प्रारम्भिक परामर्श र उपचारबाट समाधान सम्भव हुने बताउनुभयो ।
कार्यक्रममा पिपरा अस्पतालका मेसु सरस्वती भट्टराइ, सिद्धार्थ सामाजिक विकास केन्द्रका निवर्तमान अध्यक्ष तेजप्रसाद आचार्य, कार्यक्रम प्रबन्धक आरटी खान, पत्रकार र नगरवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उक्त शिविर नगरको ७, ८, र ९ वडामा केन्द्रित भएको र आवश्यकता अनुसार क्रमशः अन्य वडामा पनि विस्तार गरिने भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र र वाणगंगा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सहकार्य स्टोमा फाउण्डेसन नेपालको रहेको थियो ।
वाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य शैलेन्द्र बेल्बासेको अध्यक्षता, मोतिपुर स्वास्थ्य चौकी प्रमुख हिमलाल घिमिरेको सञ्चालनमा भएको शिविरमा मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्या समाधान गर्न मनोपरामर्श, औषधी उपचार र जनचेतनामूलक जानकारी प्रदान गरिएको थियो ।
प्रतिक्रिया