१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

व्यस्तताबाट उत्पन्न तनाव व्यवस्थापनको विधि



एजेन्सी ।
तपाईलाई निदाउन कठिन हुन्छ वा निद्रा पर्दैन भने त्यसको समाधान एउटा कलम र कागजले दिनसक्छ।

तपाईलाई निदाउन मुस्किल हुन्छ भने सायद भोलिपल्ट गर्नुपर्ने काम कति धेरै छ भन्ने चिन्ताले तपाईलाई जागै राखेको हुनसक्छ।

खासगरी तपाईले कुनै काम सुरु गरिसक्नुभएको छ तर सकाउनुभएको छैन भने।

जर्मन आइटी कम्पनीमा काम गर्ने मानिसहरूमा गरिएको एक अध्ययनमा जो मानिसले सप्ताहान्त अगाडि आफ्नो जिम्मामा रहेका काम सकेका हुँदैनन् उनीहरूले बिदाको दिनमा पनि त्यो कामका बारे धेरै सोच्ने गर्छन् र चिन्तित रहन्छन्।
तर जस्ले कार्यालयमा आफ्नो जिम्माको काम सिद्ध्याउनै लागेको हुन्छ उसले कामलाई लिएर सप्ताहान्तमा कम चिन्ता गर्छ।

युनिभर्सिटी अफ ट्रिइरका अनुसन्धानकर्ता क्रिस्टिन साइरेकले लेखेकी छन् उनीहरूले गरेको अनुसन्धानको नतिजाले देखाए अनुसार ‘हप्ताभरिको समयमा आफ्नो जिम्माको काम पूरा गर्न सकिनँ भन्ने भावनाले कामदार मानिसका विचारहरूलाई बेचैन तुल्याउने गर्छ र सप्ताहान्तको छुट्टीको बेलामा पनि राम्ररी निद्रा पर्न दिँदैन, जुन समयको चापका कारण पर्ने दबाबभन्दा पनि परको कुरा हो।’

यस्का लागि अनुसन्धानकर्ताहरूले मनोविज्ञान शास्त्रमा प्रयोग हुने एक शब्दावली ‘पर्सिभरेटिभ कगनिसन्सूको उल्लेख गरेका छन्। त्यो भनेको विगतमा भएका नकारात्मक कुराहरू वा भविष्यमा हुनसक्ने त्यस्ता कुराहरूको सम्भाव्यताका विचारहरू निरन्तर दिमागमा आइरहनु हो। त्यस्तो हुनेहरू सप्ताहान्तमा पनि आफ्नो निद्रा बिथोलिएको महसुस गर्छन्।

खासगरी आइतवारको रातिको समय विशेष कठिन हुनसक्छ। त्यो दिन बिहान तपाई धेरैबेर ओच्छ्यानमै बसिरहनुभएको छ भने राति सुत्ने बेला तपाईलाई निद्रा अरू दिनजस्तो नलाग्न सक्छ। भोलि फेरि काममा जानुपर्छ र सबै अपूरा कामहरू गर्न थाल्नुपर्छ, त्यसमाथि नयाँ काम पनि पक्कै थपिनेछ भन्ने विचार मनमा हावी हुन्छ। त्यसो भए यस्ता चिन्ताजनक कुराहरूले गर्दा निद्रा परेको छैन भने के गर्न सकिन्छ त ?

पहिलो त चिन्ताबाट टाढाको संसारमा पुर्‍याउने पुस्तकहरू केही बेरका लागि पढ्न सक्नुहुन्छ। आफ्नो सास नियाल्ने र शरिरका संवेदना ख्याल गर्ने जस्ता ध्यानका अभ्यास पनि गर्न सकिन्छ। अथवा बत्ती बालेर आफूले गर्नुपर्ने कामहरूको एउटा सूची पनि तयार गर्न सक्नुहुन्छ।

आफूले पूरा गर्नुपर्ने जुन कामहरूले चिन्तित बनाइरहेको छ तिनीहरूको एउटा सूची बनाउन सुझाव दिइएको छ। त्योभन्दा बाहेकका अरू गर्नुपर्ने कामहरू पनि त्यस्तो सूची वा समयतालिकामा लेख्न सकिन्छ। अमेरिकामा गरिएको एउटा अध्ययनले आफूले भोलि गर्नुपर्ने सबै कामहरूको एउटा तालिकाबद्ध सूची तयार पार्ने अभ्यास गर्दा त्यस्ले अचम्मसँग फाइदा हुने देखाएको छ।

प्रकाशित मिति : १८ मंसिर २०८१ मंगलबार ००:००  ३ : ४७ बजे