काठमाडौं ।
नेपाल र चीनबीच ९ वटा विषयमा सहयोग आदान प्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि छ्याङसँग बेइजिङमा मंगलबार सम्पन्न दुईपक्षीय भेटवार्तापछि समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालबाट जानकारी दिए ।
दुई देशका प्रधानमन्त्रीबीच कनेक्टिभिटी, औधोगिक विकास, पूर्वाधार, स्वास्थ्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान प्रविधि, खेलकुद, प्रकोप व्यवस्थापन लगायतका क्षेत्रमा छलफल भएको ढकालले जानकारी दिए ।
त्यसैगरी जनता जनताबीचको सम्बन्ध बढाउने र गरिवी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने विषयमा पनि कुराकानी भएको ढकालले बताए ।
चीन-नेपालबीच भएको समझदारीअनुसार टोखा छहरे सुरुङ मार्ग निर्माणमा चीनले सहयोग गर्ने भएको छ । यद्यपि यो विषय यसअगाडि नै छलफलमा आएको परियोजना हो ।
अरू पनि धेरै समझदारीहरू पुरानै प्रकृतिका छन् । प्रधानमन्त्री ओली चीन जानु अगाडि चर्चामा रहेको पोखरा विमानस्थलको चिनियाँ ऋणलाई अनुदानमा परिणत गर्नेबारे के कुराकानी भयो भन्ने खुलेको छैन ।
प्रधानमन्त्री ओली चीन उड्नु अगाडि नेपालमा बेल्ड एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना अन्तर्गत ऋण लिने या सहयोग मात्र भन्ने विषय विवादमा रहेको थियो ।
नयाँ नौबुदे समझदारी अनुसार अब नेपालले चीनमा भैँसीको मासु निर्यात गर्ने बाटो खुलेको छ ।
यी हुन् सहमतिका ९ बुँदा
१- टोखा–छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदान-प्रदान
२- नेपाल चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्र
३- नौतले वसन्तपुर दरबार पुनः निर्माण सम्पन्न प्रमाण पत्रको आदान प्रदान
४- थर्मल्ली प्रोसेस्ड बफेल्लो मिट निर्यातसम्बन्धी प्रोटोकल
५- विकास योजनासम्बन्धी समझदारीपत्र
६- आर्थिक तथा प्रविधिक सहयोगसम्बन्धी समझदारी पत्र
७- नगर सहयोगसम्बन्धी पत्र आदान प्रदान
८- स्वयंसेवी चिनियाँ भाषा शिक्षासम्बन्धी समझदारी पत्र
९- नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारी पत्र
प्रतिक्रिया