१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

नेसपा (नयाँ शक्ति) कपिलवस्तुको प्रथम जिल्ला अधिवेशनको तयारीमा तिव्रता



कपिलवस्तु ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को गत कार्तिक ५ र ६ गते पोखरामा सम्पन्न प्रथम विधान अधिवेशनले पार्टीको प्रथम महाधिवेशन माघ २५, २६ र २७ गते काठमाडौंमा गर्ने निर्णय गरे पछि यतिबेला देशै भरी पार्टीको सदस्यता नवीकरण अभियानको कार्यक्रमलाई तिव्र पारिएको छ ।

सदस्यता नवीकरणसँगै स्थानीय तह, प्रदेश अधिवेशनहरु आगामी पौष मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने केन्द्रीय महाधिवेशन आयोजक समितिको कार्यतालिका रहेको छ ।

नेसपा (नयाँ शक्ति) कपिलवस्तुको प्रथम जिल्ला अधिवेशन तयारी समितिले मङ्गसिर पहिलो हप्तादेखि कार्यक्रमको पहिलो चरणमा जिल्लामा पार्टीको सदस्यता नवीकरणको कामलाई तेज पारेको छ ।

दोश्रो चरणमा वडा, गाउँ पालिका र नगरपालिकाहरुको अधिवेशनहरु हुनेछन् । तेस्रो चरणमा जिल्ला पार्टीको प्रथम अधिवेशन पौष महिनाको चौथो हप्ता सम्म जिल्लाको सदरमुकाम तौलिहवामा भव्य र शानदार रुपमा गरी नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका रहेको जिल्ला अध्यक्ष राम निवाश पुरीले बताउनु भएको छ ।

नेसपा (नयाँ शक्ति) ले सबै तहको नेतृत्व तथा पदाधिकारी र सदस्यहरु, पार्टीका सार्वभौम पार्टी सदस्यहरुबाट प्रत्यक्ष निर्वाचनको प्रक्रियाबाट निर्वाचित हुनुपर्ने निति लिएको छ ।

नेसपा (नयाँ शक्ति) ले २०७४ सालको स्थानीय निर्वाचनको दौरानमा कपिलवस्तु जिल्लामा मायादेवी गाउँपालिका उप-प्रमुख र दुईवटा वडा अध्यक्षका अलावा १३ जना वडा सदस्य विजय गराउन सफल भएको थियो भने प्रदेश तथा संघको निर्वाचनको दौरानमा ६ प्रदेश सभा र ३ वटा प्रतिनिधि सभाको निर्वाचन क्षेत्रमा आफ्नो दलको तर्फबाट उम्मेदवारी दिएको थियो भने त्यो निर्वाचनमा सम्मानजनक मत प्राप्त गरेको थियो ।

डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेसपा (नयाँ शक्ति) ले आफ्नो पार्टीको स्थापनाकालदेखि, देशमा एउटा भरपर्दो र प्रगतिशील लोकतान्त्रिक विकल्पका लागि विभिन्न व्यक्ति, समूह, दल र नेतृत्वको अभ्यास र प्रयोग गर्दै आएको भएपनि ती सम्पूर्ण प्रयोगहरु असफल भएपछि यतिबेला नेसपा नयाँ शक्ति आफ्नै मोलिकतामा पार्टी निर्माण र मुद्दा मिल्ने शक्तिहरु सँग संयुक्त मोर्चा निर्माण गरी अघि बढने नीति लिएको छ ।

कपिलवस्तु जिल्लामा नेसपा (नयाँ शक्ति) का संस्थापक केन्द्रीय नेताहरु बिष्णुहरी शर्मा, नारायण खनाल, इलियाज मुसलमान, डा. अब्दुल मोबिन मुसलमान, राजेन्द्रमणि पाठक लगाएका नेताहरु डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेसपा (नयाँ शक्ति) को केन्द्रीय प्रथम महाधिवेशन आयोजक समितिका सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१ मंगलबार ००:००  ११ : ४४ बजे