१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

बुद्धरंगशालामा १५ औं कपिलवस्तु महोत्सव, अन्तिम चरणमा



कपिलवस्तु ।
१५औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसीर १९ गते नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्ने महोत्सवको तयारी ९५ प्रतिशत सम्पन्न भएको संघका अध्यक्ष तथा महोत्सवका संयोजक गणेश बहादुर क्षेत्रीले जानकारी दिए ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बरअवस्थित बुद्धरंगशालामा हुदैं छ । यही मंसीर १९ गतेदेखि पुष २ गतेसम्म १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुन लागेको हो ।

महोत्सवको तयारीको काम ९५ प्रतिशत काम सम्पन्न भईसकेको र बाँकी सौन्दर्यीकरणको काम मंगलबार दिउँसोसम्म सक्ने गरि काम भइरहेको अध्यक्ष क्षेत्रीले जानकारी दिए । महोत्सवलाई नयाँपन दिने गरि काम भईरहेको बताउँदै उनले भने, ‘अहिले ९५ प्रतिशत काम सकिएको छ । मंगलबार दिउँसोसम्म सबै काम सकिन्छ । स्टलका व्यवसायीहरु आउने क्रम जारी छ ।’
उनले विगतका महोत्सवहरुबाट पाठ सिक्दै यस महोत्सवलाई ऐतिहासिक बनाउने गरि संचालन गर्न लागिएको बताए । उनले १५ औं कपिलवस्तु महोत्सवलाई कपिलवस्तुकै उत्सवका रुपमा स्थापित गर्ने गरि तयारी गरिएको बताए । कम्पाण्ड, स्टल, सचिवालय, बालउद्यान निर्माणको काम सम्पन्न भएको जानकारी दिदैं स्टेज र प्रवेशद्धार निर्माणको काम अन्तिम चरणमा रहेको बताए । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गरिने बताए ।

आन्तरिक तयारीका काम विभिन्न समिति, उपसमितिमार्फत सम्पन्न भएको बताउँदै उनले भने, ‘अहिलेको महोत्सवले कपिलवस्तुको पहिचानलाई प्रदर्शन गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्ने छ ।’ उनले हरेक दिन टिकटको रङ्ग परिवर्तन हुने व्यवस्था आयोजकले मिलाएको जानकारी दिदैं यसले डान्स आईडललाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने विश्वास व्यक्त गरे । उनले सामान्य व्यक्तिका लागि टिकट ७० रुपैयाँ र विधार्थीका लागि ५० रुपैयाँ निर्धारण गरिएको जानकारी दिए ।

महोत्सवका निर्देशक समेत रहेका संघका वरिष्ठ उपाध्यक्ष हुमानाथ पौडेलले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए । महोत्सवमा २ लाख दर्शन भित्राउँदै १० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।

स्थानीय तथा घरेलु उत्पादनलाई महोत्सवले प्राथमिकता दिदै निशुल्क स्टल उपलब्ध गराउने प्रयासले सकारात्मक सन्देश प्रवाह हुने उनको भनाई छ ।

उनले यो महोत्सव कृषक, उद्योगी, व्यवसायीका लागि आफ्ना उत्पादन प्रदर्शन गर्ने थलोका रुपमा विकास हुने बताए ।

प्रकाशित मिति : १८ मंसिर २०८१ मंगलबार ००:००  १० : २४ बजे