कपिलवस्तु । नेपाल पत्रकार महासंघको देशैभर निर्वाचनको कार्य तालिका नजिकिदै गएपनि महासंघको कपिलवस्तु शाखामा भने सदस्यता सम्बन्धी विवाद चुलिँदै गएको छ।
जिल्ला कार्य समितिका अध्यक्ष किरणमान बज्राचार्यले एकलौटी रुपमा मनोमानी ढंगबाट सदस्यता सम्बन्धी नवीकरण सिफारिस केन्द्र तथा प्रदेश समितिमा पठाएको भन्दै नेपाल पत्रकार महासंघका २ जनै जिल्ला उपाध्यक्ष सहितको बहुमत कार्यसमितिले विरोध जनाएका हुन्।
पत्रकार महासंघका जिल्ला उपाध्यक्षहरू हरि अधिकारी र स्वेता गिरी, कोषाध्यक्ष मोहन बेलबासे सहित बहुमत कार्य समितिले तत्काल मनोमानी ढंगबाट गरिएको सदस्यता नवीकरण सिफारिस सच्याउन माग गरेका छन्। नेपाल प्रेस युनियनका जिल्ला उपसभापति गणेश पोखरेल, प्रेस चौतारी नेपालका जिल्ला उपाध्यक्ष बाबुराम रायमाझी लगायतले एक प्रेस विज्ञप्ति जारी गरी विवाद निरुपण नगरी महासंघको निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने बताएका छन्। अध्यक्ष बज्राचार्यको स्वेच्छाचारी निर्णय विरुद्ध सामूहिक रूपमा पत्रकार महासंघ कपिलवस्तु शाखा कार्यालयमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रने आफूहरूले घोषणा गरेको नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष श्वेता गिरीले बताइन्।
२ जना उपाध्यक्ष सहितको बहुमत कार्य समितिका सदस्यहरूको विरोधका कारण साेमबार निर्माण गर्ने भनिएको जिल्ला निर्वाचन समिति गठन हुन सकेको छैन। यस सम्बन्धमा अध्यक्ष बज्राचार्यले भने कुनै प्रतिक्रिया नदिई सदस्यता नवीकरणका लागि रकम जम्मा गर्न सूचना प्रकाशित गरेका छन्। यस अघि प्रगतिशिल पत्रकार संघले तालाबन्दी गरेको थियो ।
उता नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कार्यसमिति सदस्य गोपाल भण्डारीले अध्यक्षले मनोमानी तरिकाले आफु खुशी संस्था चलाएको र निर्णय कार्यान्वयन नगरेको जानकारी दिए ।
प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै भनेका छन् ःनेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न वार्षिक साधारण सभा अनुसार सदस्यता शुद्धिकरण सम्बन्धी केन्द्रिय समितिले निर्धारण गरेको मापदण्डका विपरीत, जिल्ला शाखाले सदस्यता सिफारीस गरेको र मिति २०८१ असोजमा भक्तपुरमा सम्पन्न शाखा अध्यक्षहरूको भेलाको म्यान्डेट अनुसार, जिल्ला शाखाले गरेको निर्णय कार्यान्वयन नगरी प्रदेश अध्यक्ष बसन्त गिरीले आफुखुशी सदस्यको नाम थप्ने र काट्ने कार्य, केन्द्रिय कमिटिले तय गरेको मापदण्ड र पछिल्लो वैठकको निर्णयलाई कार्यान्वयन नगरेको प्रति हामी गम्भीर आपत्ति व्यक्त गर्दछौं।
शाखा अध्यक्ष किरणमान बज्राचार्यले जिल्लामा कुनै वैठक नगरी घरघरमा पुगेर माइन्युटमा हस्ताक्षर गर्ने गलत प्रबृत्तिलाई पनि हामी गम्भीर ध्यानाकर्षण गरिरहेका छौं। यसै क्रममा, २०८१ कार्तिक २६ गते लुम्बिनी प्रदेश समितिले गरेको निर्णय १ (क) र २०८० साउन १८ गते जिल्ला शाखाले गरेको निर्णय नं २ कार्यान्वयन नहुँदासम्म, हामी तपसिलका संगठन र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका उपाध्यक्ष, कोषाध्यक्ष सहित बहुमत कार्यसमिति सदस्यहरु विभिन्न संघर्षका कार्यक्रम तय गर्दै, पहिलो चरणको विरोध स्वरूप शाखामा तालाबन्दी गर्ने सहमतीमा पुगेका छौं, प्रेस चौतारी नेपाल कपिलवस्तु र नेपाल प्रेस युनियन कपिलवस्तुका उपाध्यक्ष द्धय बाबुराम रायमाझी र गणेश पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ।
यदि हाम्रा माग बेवास्ता गरी निर्वाचन प्रक्रिया अघि बढे, सम्बन्धित निकाय जवाफदेही हुने बताइएको छ। साथै माग पूरा नगरे थप आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्नेछौं, विज्ञप्तीमा छ ।
प्रतिक्रिया