वाणगंगा ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा नेकपा एमाले विजयी भएको छ । निर्वाचन आयोगका अनुसार एमाले उम्मेदवार ताहिर मुसलमान १ हजार १ सय ५० मतसहित विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश कुमार यादवले १ हजार ७६ मत प्राप्त गरे ।
त्यस्तै जनमत पार्टीका उम्मेदवार सीताराम पटेल ४ सय २३ मतसहित तेस्रो भएका छन् । यो वडामा यसअघि नेपाली कांग्रेसका उम्मेदवार तिलकराम यादव निर्वाचित भएका थिए ।
त्यतिबेला उनी १ हजार ३२ मतले विजयी हुँदा नेकपा एमालेका अब्दुल मोजीब खाँले ८ सय ८९ मत मात्रै पाएका थिए । माेजिब खाँका छाेरा ताहिर लाइ एमालेले उम्मेदवार बनाएकाे थियाे ।
वडाध्यक्षका लागि दलका १० जना र स्वतन्त्र ४ जना गरी १४ जना उमेदवार थिए । अन्तिम मत परिणाम अनुसार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका राम बहादुर कुर्मी चौधरीले ३ सय ४१ मत प्राप्त गर्दा सोहि पार्टीबाट छुट्टिएर बनेको जसपाका उमेदवारले शुन्य मत मात्रै पाएको देखिएको छ ।
नेकपा माओबादी केन्द्रका रफि मोहम्मद मुसलमानले १ सय ३८ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका अवधेस कुमार चौधरीले ९२ मत, राप्रपाका इनताज अहमद धोबीले ६६ मत, नागरिक उन्मुक्ति पार्टीका सुर्य कुमार चौधरी थारुले ३३ मत, नेकपा एसका सुब्बा थारुले १५ मत र स्वतन्त्र उमेदवार अब्दुल अब्बल फकिरले १ मत पाएका छन् ।
कांग्रेसबाट विजयी वडाध्यक्ष तिलकराम यादवको निधन भए पछि उप निर्वाचन भएको हो ।
प्रतिक्रिया