काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षकाे उपचुनावमा एमाले विजयी बनेको छ ।
वडाध्यक्षमा एमालेका गंगा तामाङले ३९९ मतसहित विजयी भएका हुन् । २०५४ देखि नै कांग्रेसले जित्दै आएको यस वडामा एमालेले यसपटक कांग्रेसको विरासत भत्काएको हो ।
एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारको क्षेत्र भएपनि पहिलोपटक एमाले विजयी बनेको हो ।
उपनिर्वाचनमा दोस्रो स्थानमा कांग्रेसका घनश्याम दाहालले १७७ मत पाएका छन् । त्यस्तै रास्वपाका विष्णु पोखरेलले १५१ मत ल्याएका छन् भने माओवादी केन्द्रका मानवहादुर सुनुवारले २३ मत प्राप्त गरेका छन् ।
जम्मा ७६८ मत खसेको थियो । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गोपी कार्कीको निधनपछि उपनिर्वाचन भएको हो ।
प्रतिक्रिया