१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

चीनबाट फर्किएलगत्तै राष्ट्रियसभा उपाध्यक्ष घिमिरे क्वालालम्पुर प्रस्थान



काठमाडौं ।

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मलेसियाको क्वालालम्पुर प्रस्थान गरेकी छन् ।

हालै १० दिनको चीन भ्रमण गरेर फर्किएकी उपाध्यक्ष घिमिरे गएराति क्वालालम्पुर गएकी हुन् ।

संसदीय अध्ययन तथा अवलोकन भ्रमणका लागि १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै घिमिरेसहितको टोली क्वालालम्पुर प्रस्थान गरेको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिमण्डलमा मधेश, बागमती र कोशी प्रदेशका सभामुख क्रमशः रामचन्द्र मण्डल, भुवनकुमार पाठक र अम्बरबहादुर विष्ट छन् ।

त्यस्तै लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाण केसी, गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापा, सुदूरपश्चिम प्रदेशका उपसभामुख कोइलीदेवी चौधरी र कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने पनि अध्ययन भ्रमण टोलीमा सहभागी छन् ।
नेपाली प्रतिनिधिमण्डलले मलेसियाका सभामुख र उपसभामुखका साथै सेलागोर प्रान्तीय संसद्का सभामुख र उपसभामुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

उपाध्यक्ष घिमिरे नेतृत्वको टोली यही मंसिर २१ गते स्वदेश फर्कने छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१ आइतबार ००:००  ७ : २७ बजे