मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले मावि तहसम्मको शिक्षा निःशुल्क तथा अनिवार्य गरेसंगै सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा वृद्धि भएको छ । निःशुल्क तथा अनिवार्य शिक्षा कार्यन्वयनपछि शिवराजमा १८ सय विद्यार्थी थपिएको नगरप्रमुख अजय थापाले बताउनुभयो । मयेर थापाले गरिव, विपन्न वर्गका छोराछोरीको अवस्थालाई हेरेर गुणस्तरीय शिक्षा वृद्धि गर्ने बताउनुभयो ।
शुक्रबार खरेन्द्रपुरमा आयोजित किशोरीसंग मेयर कार्यक्रममा बोल्दै थापाले आर्थिक अभावकै कारण अब शिवराजमा कोहीपनि शिक्षाबाट बन्चित नहुने बताउनुभयो ।
सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, शिवराज नगरपालिकाको सहकार्य र एक्सनएड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा शिवराजका ११ वटै वटाका किशोरीको प्रतिनिधित्व रहेको थियो । कार्यक्रममा सहभागी किशोरीले नगरप्रमुख थापासंग विभिन्न गुनासो राखेका थिए ।
सहभागीले क्याम्पसबाट घरको दुरी टाढा भएको भन्दै यातायातको ब्यवस्ता गर्नुपर्ने, पुल नबन्दा समस्या भएकोले पुलको ब्यवस्थाहुनुपर्ने, बहुमुखी क्याम्पसहरुले चर्को शुल्क लिएको गुनासो गरेका थिए ।
यस्तै सिपमुलक तालिमको अवधी बढाउनुका साथै समाजमा ब्याप्त बालविवाहले पनि शिक्षालाई प्रभावित पारेकोले यसलाई रोक्नुपर्ने बताएका थिए । किशोरीहरुको गुनासोलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले हरेक समस्याको समाधानका लागि आफु लागि पर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाले हरेक समस्याको समाधान शिक्षा भएकाले शिवराज नगरपालिकाले शिक्षालाईनै प्राथामिकता दिएको बताउनुभयो । नगरपालिकाको कुल बजेटको २५ प्रतिशत शिक्षामा छुट्याएको भन्दै यसको प्रतिफल केहि समयपछि देखिने बताउनुभयो ।
समाजमा हुने लैंगिक तथा जातिय विभेद अशिक्षाकै कारण भएको भन्दै मानिस शिक्षित भएमा यो समस्या आफै हटेर जाने ठोकुवा गर्नुभयो । साथै मेयर थापाले सम्पूर्ण विद्यार्थीलाई विद्यालयप्रति केहि गुनासो भएमा शिवराजका हरेक विद्यालयमा गुनासो सुन्नका लागि एल्लो बक्स राखिएकोले आफ्ना गुनासाहरु सोही बक्समा राख्न आग्रह गर्नुभयो ।
बहुमूखि क्याम्पस स्थानीय तहको अधिकार अन्तरगत नपरेपनि शिवराजका ३१ जना विद्यार्थीलाई ब्याचलरका लागि प्रतिब्यक्ती २० हजार छात्रवृतीको ब्यवस्था गरेको भन्दै निकट भविष्यमा ब्याचलरसम्मनै निःशुल्क शिक्षाको ब्यवस्था गर्ने उद्घोष गर्नुभयो ।
अहिलेको युगमा शिक्षानै सबैकुराको समाधान भएको भन्दै लगनशिल भएर पढन सबै विद्यार्थीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सूर्य कुमारी शाहीले यसरी शिक्षा क्षेत्रलाई विशेष महत्व दिएर काम गरेको भन्दै मेयर थापालाई विशेष धन्यवाद दिदै सिद्धार्थले पनि शिवराजसंग सहकार्यगर्दै अगाडी बढेको बताउनुभयो । शिक्षा, स्वास्थ्य बालबालिका अधिकारको लागि सिद्धार्थले काम गर्दै आएको भन्दै आगामी दिनमापनि यसलाई निरन्तरता दिने बताउनुभयो ।
सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सनएडको संयुक्त साझेदारीमा शिवराजको वडा नम्बर ४, १० र ११ मा स्थानीय अधिकार कार्यक्रम संचालन भएको जानकारी गराउनुभयो । कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेले जीवनमा आउने अनेक समस्यासंग लड्न सकेमा मात्र सफलता प्राप्त हुने भन्दै पढाईमा ध्यान दिन सबैलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा सिद्धार्थका प्रतिनिधी, विभिन्न क्लव तथा बालसंजालका किशोरीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया