१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

वडाध्यक्षमा पोख्रेल निर्वाचित भएपछि पटनाको पूर्वाधार बिकासमा फड्को, काठे पुल विस्थापित हुदै



मायादेवी अनलाइन, बाणगङ्गा ।
बिकासको दृष्टिमा नगरमै सबैभन्दा पछाडि रहेको कपिलवस्तु बाणगङ्गा नगरपालिका वडा नम्बर १० पटनामा पूर्वाधार बिकासले तिब्रता पाउन थालेको छ । वडाध्यक्षमा यम प्रसाद पोख्रेल निर्वाचित भएपछि वडा नम्बर १० पटनाको बिकासमा तिब्रता देखिएको हो ।

वडाध्यक्ष पोख्रेलका अनुसार अइरौलीमा रु ३० लाखको पूर्वाधारको क्षेत्रमा १० मिटर लम्बाइ रहेको पक्की पुल निर्माण भएको छ । शुद्धोधन गाउँपालिकासँग सीमा जोडिने यो पुल यस क्षेत्रको महत्त्वपूर्ण सडक संजालमा पर्छ । उक्त सडक रुपन्देहीसँग प्रत्यक्ष जोडिने छ ।

पटनाकै पिपरा गाउँमा समेत रु २० लाखको लागतमा पक्की पुल निर्माण गरिएको वडाध्यक्ष पोख्रेलले बताए । यी पक्की पुल नहुँदा बर्षौदेखि यस क्षेत्रमा समस्या थियो । अहिले दुबै पुल बनेपछि पटनाबासी लाभान्वित भएका छन्, उनले भने । वडा र नगरको बजेटबाट उक्त योजना सम्पन्न भएको हो ।

पोख्रेल वडाध्यक्षमा निर्वाचित भएको साढे दुई बर्षको अबधिमा तीन किलोमिटर सडक पक्की बनिसकेको छ । यहाँका कयौं सडक ग्राभेल भइरहदा पोख्रेलले सडकलाई पक्की बनाउने गरी लागि परेका छन् ।

साँघुरो भवनबाट वडाको कार्यालय संचालन गर्नुपर्ने अवस्थालाई समेत पोख्रेलले अन्त्य गरेका छन् । वडा कार्यालयको तला थप गरेर वडाबासीलाई सेवा दिइरहेको उनले बताए ।

पटनामा दुई बर्ष अगाडिसम्म काठे पुलबाट यात्रा गर्नुपर्ने अवस्था थियो । अहिले वडा र नगरको लगानीमा वडाका सबै काठेपुल लगभग बिस्थापित गरेको वडाध्यक्ष पोख्रेलले जानकारी दिए । वडा कार्यालयले पूर्वाधार विकास संगै आर्थिक, सामाजिक विकास, शिक्षा, स्वास्थ्य र महिला बालबालिकाको क्षेत्रमा समेत प्रगती गर्दै आइरहेको छ । चुनावका बेला गरेका प्रतिवद्धता आफुले पुरा गर्दै ५ वर्षको अवधीमा वडाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि लगाएतका क्षेत्रमा फड्को मार्ने बताए ।

वडा सचिव सन्तोष चौधरीका अनुसार आ.ब.२०८१।८२ को लागि महत्वपूर्ण सडक संजाल जोड्ने योजना, कृषि, पशु, सशक्तिकरण जस्ता कार्यक्रमहरु रहेको जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०८१ बिहिबार ००:००  ८ : ४१ बजे