२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

१५ औँ कपिलवस्तु महोत्सवको ७० प्रतिशत तयारी पूरा निर्देशक पौडेल



वाणगंगा।
कपिलवस्तु उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १५ औँ कपिलवस्तु महोत्सवको बिहिबारसम्म ७० प्रतिशत तयारी पूरा भएको छ । महोत्सवको उद्घाटन अगावै सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको महोत्सव निर्देशक समेत रहेका संघका वरिष्ठ उपाध्यक्ष हुमानाथ पौडेलले जानकारी दिए । पौडेलका अनुसार महोत्सवमा साढे २ लाख दर्शक भित्र्याउने र करिब १० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ । उनले भने, “कम्पाउण्ड निर्माणदेखि स्टल, मञ्च, सचिवालय, प्रवेशद्वारसम्मका काम धमाधम भइरहेका छन् । महोत्सवको प्रवेशद्वार पशुपतिनाथ मन्दिरको स्वरूपमा निर्माण गरिनेछ ।” अन्य महोत्सवभन्दा फरकपन दिने बताउदै पौडेलले यस पटकको महोत्सवलाई अघिल्ला महोत्सवभन्दा उत्कृष्ट र आकर्षक बनाउन विशेष ध्यान दिइएको बताए । उनले भने, “यस जिल्लाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय, औद्योगिक तथा व्यापारिक क्षेत्रको डकुमेन्ट्री निर्माण गरी महोत्सव अवधिभर प्रदर्शन गरिनेछ ।

आर्थिक गतिविधीमा टेवा पुग्ने विश्वास

महोत्सवले औद्योगिक एवं हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुग्ने पौडेलको विश्वास छ । उनले भने, “आर्थिक मन्दीको मारमा परेका उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक गतिविधीमा, पुनरुत्थानको आयामको रूपमा महोत्सवलाई लिन सकिन्छ ।”

१५ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर १९ गतेदेखि पुस २ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा हुनेछ । १५ औं कपिलवस्तु महोत्सव सफल बनाउन मिडिया र कपिलवस्तु उद्योग बाणिज्य संघ प्रतिबद्ध रहेकाे समन्वयात्मक बैठक भएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८१ बिहिबार ००:००  ८ : १३ बजे