बाणगंगा ।
कपिलवस्तु उद्योग वाणिज्य संघ र मिडिया बीचको समन्वयात्मक वैठक बुधबार संघको कार्यालयमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुको समन्वयमा मिडिया संग समन्वयात्मक वैठक बसेको हो । आसन्न १५ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८१ को सन्दर्भमा कपिलवस्तु उद्योग वाणिज्यका संघका पदाधिकारी, पूर्व अध्यक्ष तथा पत्रकार महासंघका पदाधिकारी सदस्य, मिडिया हाउसका प्रतिनिधी तथा पत्रकार बीच अन्तरकृया गरीएको हो ।
मंसिर १९ गतेदेखि पौष २ गते सम्म आयोजना हुने १५ औं कपिलवस्तु महोत्सव कसरी सफल र ऐतिहासिक बनाउन सकिन्छ भन्ने विषयमा महासंघका पदाधिकारी सदस्य, पत्रकारले महत्वपूर्ण सुझाव सल्लाह दिएका छन् । महोत्सवमा सवै क्षेत्र र निकायको सहभागीता बढाई स्थानीय उत्पादन र बजारीकरण, नयाँ प्रविधी, सिप, कला संस्कृतिको प्रदर्शनी हुने खालका कार्यक्रमहरु अघि बढाउनुपर्नेमा जोड दिइएको थियो । विगतका वर्षहरुमा जस्तो महोत्सव सफल बनाउनमा मिडियाको भूमिका र सहयोग अपरिहार्य रहेको आयोजकले बताएका थिए ।
कार्यक्रममा संघका अध्यक्ष तथा १५ औं कपिलवस्तु महोत्सव मुल समारोह समितिका संयोजक गणेश बहादुर क्षेत्रीले सवैको सहभागीता र अपनत्वले प्रदर्शनी सफल हुने विश्वास व्यक्त गरे । उनले स्थानीय स्तरमा रहेका विभिन्न संघ संस्थासंग मेला सम्बन्धमा छलफल गरिरहेकाले मिडियासंग पनि समन्वय गरी सुझाव सल्लाह मागेर अघि बढिएको स्पष्ट पारे । विगत भन्दा फरक र नयाँ पन दिने बताउदै महोत्सवमा आर्थिक पारदर्शीतालाई उच्च प्राथमिकतामा राखेको संयोजक क्षेत्रीले बताए ।वैठकमा निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पूर्व अध्यक्ष उमानाथ पौडेल लगाएतले सवैले आ आफनो ठाउँबाट महोत्सव सफल बनाउन सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेलले हरेक महोत्सवका जस्तै यस महोत्सवमा पनि स्थानीय स्तरमा रहेका संचार माध्यमसंग समन्वय र सहकार्य गरी अघी बढ्ने बताए ।
सोही अवसरमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष डिलाराम भुसाल, उपाध्यक्ष हरि अधिकारी, कोषाध्यक्ष मोहन बेल्वासे, कार्यसमिति सदस्य कृष्ण पौडेल, पत्रकार पार्वती पाण्डे, चन्द्रकान्त न्यौपाने, हरि घिमिरे, सरिता थारू लगाएतले महोत्सव सफल बनाउन स्थानीय संचारमाध्यमबाट उल्लेखनीय भूमिका खेलिने बताउदै महोत्सवका संचालनका क्रममा हुने कमी कमजोरी, विषयगत समितिका कामहरूबारे सजग बनाएका थिए ।
वैठक संघका महासचिव नवदत्त घिमिरेको संचालन तथा अध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न वैठकमा वाणिज्य उपाध्यक्ष नारायण पौडेल, महिला उपाध्यक्ष शान्ता पाैडेल, सह काेषाध्यक्ष कृष्ण गैरे लगाएतकाे सहभागीता रहेको थियो ।
प्रतिक्रिया