कपिलबस्तु ।
जेष्ठ नागरिकको सामाजिक सम्मान, घरदैलो मै स्वास्थ्य सेवाको अभियान शिवराज नगरपालिकाले वडा वडामा शुरु गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखा मार्फत नगरका सवै वडामा उक्त अभियान संचालन गरिने बताइएको छ । आइतबार वडा कार्यालय १ र शिवपुर स्वास्थ्य चौकीको समन्वयमा जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम संचालन भएको हो ।
आ.ब. २०८१।८२ अन्तरगत शिवपुर स्वास्थ्य चौकीले वडा नम्बर १ स्थित उमरी गाउँबाट जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा अभियान घरदैलोमा पुरयाएको छ । घरदैलो स्वास्थ्य सेवाको अभियान वडा अध्यक्ष खिमविक्रम केसीले शुभारम्भ गर्दै जेष्ठ नागरिकहरूको स्वास्थ्य जाँच, परामर्श र आधारभूत औषधी प्रदान गरिने जानकारी दिनुभयो । शिवपुर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीको अगुवाइमा प्रत्येक वडाको टोलमा पुगेर स्वास्थ्य जाँच गरिने भएको छ ।
घर दैलोमै पुगेर स्वास्थ्यकर्मीहरूले ज्यष्ठ नागरिकको स्वास्थ्य जाँच गरेपछि धेरै जेष्ठ नागरिकहरू लाभान्वित हुने भएका छन्। जसले गर्दा जेष्ठ नागरिकको स्वास्थ्य अवस्था के कस्तो छ ? जानकारी लिने, आवश्यक परामर्श, स्वास्थ्य जाँच र औषधि उपचारमा सहयोग पुग्ने वडा अध्यक्ष केसीले बताउनुभयो।
स्वास्थ्यकर्मी डिबी हमालले ज्येष्ठ नागरिकले स्वास्थ्य जाँचका क्रममा औषधी खानु भएको छ छैन, केही समस्या भए सोधपुछ गर्ने, स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य चौकीबाट उपलब्ध औषधी वितरण गर्ने बताउनुभयो । अभियान अन्तरगत वडाका सवै टोलमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने लक्ष्य रहेको बताइएको छ ।
प्रतिक्रिया