मायादेवी अनलाइन, कपिलवस्तु ।
यही मंसिर १९ गतेदेखि सुरु हुने १५औं कपिलवस्तु महोत्सवमा दैनिक रुपमा स्वास्थ्य परीक्षणसंगै उपचारको व्यवस्था रहने भएको छ । महोत्सव अवधिभर स्वास्थ्य क्षेत्रमा दैनिक निःशुल्क विभिन्न क्षेत्रका स्वास्थ्य प्रमुखहरुबाट स्वास्थ्य परीक्षण र उपचार गरिने व्यवस्था रहने स्वास्थ्य व्यवस्थापन उपसमितिका संयोजक राजेश कुमार पन्थले जानकारी दिए ।
संयोजक पन्थले स्वास्थ्य परिक्षण पश्चात आवश्यक औषधीहरु निःशुल्क उपलब्ध गराइने बताए । उनका अनुसार महोत्सव स्थलमै दैनिक रुपमा निःशुल्क सुगर परिक्षण, निःशुल्क डेण्टल शिविर, आँखा शिविर, आयुर्वेदिक शिविरहरु संचालन गरिने छ । महोत्सव क्षेत्रभित्र वृद्ध, असहाय, अपाङ्ग, बिरामीहरुका लागि स्वास्थ्य स्वंमसेवकहरु परिचालन गरिने उनले बताए ।
उनले आयोजक संस्थाले विभिन्न निकायसंग समन्वय गरेर रक्तदान शिविरको समेत आयोजना गर्ने बताए । महोत्सव अवधिभर महोत्सव क्षेत्रभित्र कुनै पनि स्वास्थ्य समस्या आएमा स्वास्थ्य क्षेत्रका पदाधिकारीसहित स्ंवयसेवकहरु सदैव तयारी अवस्था रहने उनले बताए । उनले १५औँ कपिलवस्तु महोत्सवलाई भव्य र सभ्य रुपले सम्पन्न गर्नको लागि अवलोकन गरि मनोरञ्जन लिनुको साथै स्वास्थ्य परिक्षण गरि लाभ लिन समेत अपिल गरेका छन् ।
१५ औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर १९ गतेदेखि पुष २ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा हुदैंछ ।
प्रतिक्रिया