काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम यो सरकार ढल्दैन भनेर भाषण गर्ने मात्रै रहेको बताएका छन्।
काठमाडौँमा शनिवार उक्त पार्टीले आयोजना गरेको कार्यक्रमा महासचिव चन्दले आफूले काम गरेर देखाउनुपर्नेमा यो सरकार ढल्दैन भनेर भाषण गरिरहने अवस्था रहेको सुनाए। उनले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सरकार ढल्दैन मात्रै भन्ने गरेको र अहिले पनि सोही कुरा दोहोरिरहेको टिप्पणी गरे।
उनले भने, ुआजकाल केपीजी प्रधानमन्त्री हुनुभएको छ, केपीजीको पनि कामै के छ भन्दा यो सरकार ढल्दैन भन्नेमात्रै भएको छ।ु उनले जनतालाई देश भ्रष्टाचारीको कब्जामा पर्न सक्छ भन्ने लागिरहेको दावी गर्दै सरकारबाट जनताहरु सन्तुष्ट नरहेको बताए।
उनले आफ्नो पार्टीमाथि दमनको नीति लिए कडारुपमा प्रतिवाद गर्ने चेतावनी दिए। सरकार गिराउने र बनाउने खेल चलिरहेकाले जनतामा आक्रोश र असन्तुष्टि जन्मिएको उनले बताए। उनले आफ्ना नेता कार्यकर्ताहरुलाई जेलमुक्त गर्न पनि आग्रह गरे।
चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गरे। नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको ११औँ स्थापना दिवसका अवसरमा भृकुटीमण्डपमा आज सभा भएको थियो।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विगतमा क्रान्तिको अगुवाई गरेका कतिपय कम्युनिष्ट पार्टीमा उतार–चढाव तथा विचलन आएपछि जनताको क्रान्तिको नेतृत्व आफ्नो पार्टीले गर्दैआएको बताए।
केन्द्रिय सदस्य माइला लामाले मुलुकको अस्थिर राजनीति र वेरोजगारलगायतकारण युवापुस्ता अध्ययन र रोजगारीका लागि विदेशिन बाध्य हुँदा गाँउघर खाली हुन पुगेको घटना सुनाए। तत्कालीन नेकपा (माओवादी)बाट अलग भइ विसं २०७१ मा एउटा धारले महासचिव चन्दको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गठन गरेको थियो।
प्रतिक्रिया