६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

‘पूर्ण सरसफाई नगर’ बनाउने बाणगंगाकाे अभियान सुरुवात



कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिकाले पूर्ण सरसफाई नगर बनाउने अभियान सुरु गरेको छ । बाणगंगाले चालु आर्थिक बर्ष ०८१।८२ को निति तथा कार्यक्रममै समावेश गरी यस अभियानको पहिलो बैठकबाट औपचारिक रुपमै सुरु भएको जनाएकाे छ ।

उक्त बैठकमा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले अभियानको बारेमा विस्तृत जानकारी गराएका थिए । उनले एक साथ ५ वटा अभियान शुरू गरिने बताउदै पूर्ण सरसफाई, पोषण, बालमैत्री, घरजग्गा अभिलेख र संस्थागत सुत्केरी कार्यक्रम संचालन हुने जानकारी दिए ।

उनले पूर्ण सरसफाई अभियान सम्बन्धि विभिन्न ७ वटा सुचकहरु पुरा गर्नुपर्ने बताए । अभियान अन्तर्गत ८० प्रतिशत सुचकहरु सजिलै पुरा गर्न सक्ने अवस्था रहेको उनले दाबी गरे । उनले राजमार्ग आसपासका वडाहरु १, ४, ८ र ७ लाई घोषणा गर्दै क्रमिक रुपमा नगर अघि बढ्ने बताए । नगरकाे वास प्लान अनुसार काम अघि बढ्ने जानकारी दिए ।

नगरप्रमुख चक्रपाणी अर्यालले विगतमा भौतिक पूर्वाधार निर्माणमा नगरको लगानी केन्द्रित भएको स्मरण गर्दै अब नगर पूर्वाधार विकाससंगै सामाजिक विकासमा मुद्धामा अग्रसर हुने दिशातर्फ अघि बढेको बताए । उनले यसअघि नगरभित्रका मुख्य सडक, पुल, कल्भर्ट र सिचाई सुविधा पुरयाउन ठुलो रकम लगानी गरिरहेको बताउदै अब मानव विकासको सुचांकमा टेवा पुरयाउन सामाजिक सवाललाई प्राथमिकता दिने जानकारी दिए ।

सामाजिक विकासका लागि जनस्तरबाटै सहयोग आवश्यक रहेको बताउँदै उनले भने, ‘भौतिक पूर्वाधार निर्माणमा भन्दा सामाजिक विकासमा जनताको सहयोग बढी आवश्यक पर्छ, अन्यथा त्यसका लागि विनियोजित बजेट फ्रिज हुने स्थिति आउन सक्छ ।’ जनताको जीवनस्तर माथि उकास्न अब नगर केन्द्रित हुने उनको भनाई छ । उनले नगरको यस अभियानलाई साथ दिई सार्थक तुल्याउन सबैलाई आह्वान समेत गरे ।

नगर प्रमुख अर्यालले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गा प्राप्तिका लागि बर्षौदेखि लागेको भएता पनि त्यसले पूर्णता पाउन नसकेको स्मरण गर्दै भने, ‘हालसम्म जग्गा प्राप्त भएको भए त्यसले पूर्णता पाएर बनिसकेको हुने थियो ।’ ल्याण्ड फिल्ड साईट (प्रशाेधन केन्द्र) निर्माणको विषय आम स्थानीय जनतालाई बुझाउन नसकिएको उनले स्वीकार गरे ।

‘ल्याण्ड फिल्ड साईट बने पुरै गाउँ नै दुर्गन्धित हुन्छ भन्ने आम जनताको बुझाई छ, यसलाई चिर्न जरुरी छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नगर सभापति विष्णु थापा, नेकपा एमाले नगर सचिव चेत नारायण भण्डारी, माओवादीका नगर इन्चार्ज नाराण भुसाल, भुपु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्ष राजेन्द्र विक्रम शाह, बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्ष विश्व कार्की, पत्रकार हरि अधिकारी लगाएतले नगरको पूर्ण सरसफाई अभियानलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनीहरुले पूर्ण सरसफाईका कार्यक्रमलाई नियमित रुपमा संचालन गर्न सुझाव दिए । त्यसका लागि वडासंगै टोल विकास समितिलाई सक्रिय बनाएर अघि बढ्न आवश्यक रहेको उनीहरुको भनाई छ । उनीहरुले राजनितिक दलको लडाईले हालसम्म पनि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुन नसकेको बताएका थिए । कामको जस कसले लिने भन्ने विषयले विकास निर्माणका काम अवरुद्ध हुनु दुखत भएको उनले बताए । उनीहरुले अभियानको थालनी बाणगंगाका मुख्य बजार क्षेत्रबाट गर्न सुझाव दिएका थिए ।

यसैबीच बाणगंगा नगरपालिका वडा नं २ मा पूर्ण सरसफाई अभियानको शुरुवात गर्दै स्थानीय सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८१ सोमबार ००:००  १० : १९ बजे