६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

भाषा संस्कृति संरक्षणमा जोड दिन आवश्यक : सांसद पन्थी



बाबुराम रायमाझी,भलवाड।

वाणगंगा नगरपालिका ९ मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल कपिल आरोग्य मन्दिर कपिलधाम (धार्मिक वन)को १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद एवं पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले कपिलधामलाई राष्ट्रिय गहनाको रूपमा व्याख्या गर्दै यसको विकासका लागि सामुदायिक बन, संघसंस्थाको सहयोग आवश्यक भएको उल्लेख गरे। उनले आफ्नो तर्फबाट पनि धामको विकासमा आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै भाषा, संस्कृति र हाम्रा मुल्य मान्यता संरक्षण गर्न धाममा संचालित बैदिक संस्कृत गुरुकुलमको विकासमा सवैले जोड दिनुपर्ने बताए ।
विशिष्ट अतिथि तथा पूर्व अर्थ राज्य मन्त्री एवं भारतका लागि नेपालका पूर्व राजदूत दिप कुमार उपाध्यायले कपिलधामलाई ऋषि महर्षिहरूले तपस्या गरेको पुण्यभूमि भन्दै यसको संरक्षण र प्रबर्द्धनका लागि राज्यसँग गुरुयोजना सहित माग गर्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा वडा न. ९ का वडा अध्यक्ष कमल पौडेल, वडा न. ७ का वडाअध्यक्ष विष्णु गिरि, वडा न. ५ का वडा अध्यक्ष दुनिका भुसाल, गोरुसिंगे सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विवेक कुमार घिमिरे, सल्लाहकार मोहन ज्ञवाली, बौद्धिक व्यक्तित्व सूर्य भुसाल लगायतले संस्थाको प्रगतिको कामना गर्दै कार्यक्रमको सफलताको शुभेच्छा व्यक्त गरे।
कपिल धामका सल्लाहकार मोहन ज्ञवालीद्धारा स्थापित कपिलमुनी शान्ति पुरस्कार मरणोपरान्त स्व. हिमलाल ज्ञवालीका छोरा बिक्रम ज्ञवालीलाई प्रदान गरिएको छ ।
साधारणसभामा संस्थाका सचिव ध्रुव बेल्बासेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे। कोषाध्यक्ष राजु अर्यालले आर्थिक वर्ष २०८०।८१ मा संस्थाले ३१ लाख ६६ हजार रुपैयाँको आय व्यय पेश गरेका थिए । लेखा संयोजक कमल बेल्बासेले लेखा प्रतिवेदन सुझावसहित प्रस्तुत गरे ।
कार्यक्रमको अवसरमा ३ सय ११ जना आजीवन सदस्यहरूलाई सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो।
संस्थाका अध्यक्ष शंकरप्रसाद आचार्यले कपिलधामको विकास र भावी नीतिहरूको बारेमा जानकारी गराउँदै धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले कपिलधामको महत्वलाई थप उजागर गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम सहसचिव दुर्गाप्रसाद पौडेलको सहजीकरणमा सम्पन्न भएको थियो । कपिलधामको विकास र प्रबर्द्धनका लागि यो साधारणसभा एउटा कोसेढुंगा सावित हुने सरोकारवालाले बताएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८१ सोमबार ००:००  ७ : ५२ बजे