६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

अर्घाखाँचीमा भान्जा हत्या आरोपमा मामा पक्राउ



अर्घाखाँची ।
अर्घाखाँचीमा मदिरा सेवनको क्रममा विवाद हुँदा मामाले भान्जाको हत्या गरेका छन् ।

हत्या आरोपमा अर्घाखाँचीको शितगंगा नगरपालिका–६ सानाढुंग्रेका ५३ वर्षीय झन्द्रबहादुर गाहालाई प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै भान्जा तिलक रेश्मीको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय अर्घाँखाचीका डीएसपी चक्र मल्लले बताए ।

मंगलबार बिहान सानाढुंग्रेस्थित भिरपाखोमा ३५ वर्षीय रेश्मी मृत अवस्थामा भेटिएका थिए । मृत फेला परको भन्ने जानकारी आउनासाथ प्रहरी टोली अनुसन्धानमा खटिएको थियो ।

अनुसन्धानका क्रममा उनकै मामा गाहाले हत्या गरेको खुलेपछि पक्राउ गरिएको डीएसपी मल्लले बताए । उनीहरु २६ गते साँझ ६ बजेतिर सँगै बसेर मदिरा सेवन गरेका थिए । सोही क्रममा गाहाले भान्जा रेश्मीलाई गाली गलौज गरेका थिए ।

साढे ६ बजेतिर रेश्मी मामा गाहाकै घरमा गएर मलाई किन गाली गरेको भन्दै विवाद गर्न पुगेका थिए । त्यसपछि सोही राति ११ बजेतिर मामा गाहाले भान्जा रेश्मीको हत्या गरेको खुलेको पाइएको प्रहरीले जनाएको छ ।

राति अबेरसम्म रेश्मी घर नआएपछि यता परिवारका सदस्यले भने कतै साथीकोमा गए होलान् भन्दै खोजी नगरेको बताएको छ ।

हत्यापछि मनोजबहादुर गाहाको खर्यान भिरपाखामा लगेर मामाले शव फालेको खुलेको छ । रेश्मीलाई ढुंगा प्रहार गरेर हत्या गरेको खुलेको छ । पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको मल्लले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०८१ बिहिबार ००:००  ७ : ३९ बजे