६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

मंसिर १२ सम्म बक्यौता तिर्न उद्योगीलाई प्राधिकरणको अल्टिमेटम



काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले दुई साताभित्र सरकारको निर्देशनअनुसार बक्यौता महसुल बुझाउन उद्योगी व्यसायीलाई अल्टिमेटम दिएको छ।

प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै आगामी मंसिर १२ गतेभित्र बक्यौता बुझाउन भनेको हो। बक्यौता रकम नुबुझाएमा कानुनबमोजिम प्रक्रिया अघि बढाइने चेतावनी प्राधिकरणले दिएको छ।

यसअघि हिजै पत्रकार सम्मेलन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नबुझाए फेरि लाइन काट्ने बताए। सरकारले नै १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेकाले आफूहरु त्यसको कार्यान्वयनमा लागेको घिसिङको भनाइ छ।

मन्त्रिपरिषदले निर्णय गरेसँगै कात्तिक ८ गते बिजुली काटेका सबै उद्योगहरुमा प्राधिकरणले हिजो बिजुली जोडिसकेको छ। गत आइतबारको मन्त्रिपरिषद बैठकले उद्योगहरुमा काटिएका लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : २९ कार्तिक २०८१ बिहिबार ००:००  ९ : ४५ बजे