९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नारायणगढ–बुटवल सडक खण्डको काम चाँडो सक्न ३ जिल्लाका जनप्रतिनिधिले दबाब दिने



काठमाण्डौ ।

नारायणगढ–बुटवल सडक खण्डको विस्तारमा ढिलाइ भएपछि पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र रुपन्देहीका जनप्रतिनिधिले संयुक्त रूपमा दबाब सिर्जना गर्ने भएका छन् ।

बर्दघाट नगरपालिकामा सम्पन्न जनप्रतिनिधिहरूको भेलाले तीन वटै जिल्लाका जनप्रतिनिधिबाट संयुक्त रूपमा भोलि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने सहित दबाबका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

छलफलमा सडक आयोजनाको पश्चिम खण्डका आयोजना प्रमुख शशाङ्क मिश्रले ठेकेदारले आर्थिक अभावका कारण भन्दै काम गर्न ढिलाइ गरेको बताउनुभएको जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादवले जानकारी दिनुभयो । ठेकेदारलाई ठेक्का तोड्नु अगाडिको प्रक्रियागत रूपमा दिनुपर्ने अन्तिम चेतावनी स्वरूप एनटीसी जारी भइसकेको बताउँदै मिश्रले यो समय अवधिभित्र तोके अनुरूप काम नभए ठेक्का तोड्नुपर्ने बताउनुभयो ।

बुटवल–नारायणगढ सडक खण्डको अहिलेसम्म ५४ प्रतिशत मात्र काम भएको छ । दुम्कीबासदेखि बर्दघाटसम्मको १४ किलोमिटर दाउन्ने खण्ड अहिले सबैभन्दा जोखिमपूर्ण सडक बनेको छ । त्यहाँ दुईदेखि तीन फिटसम्म खाल्टाखुल्टी छन् जसले गर्दा दैनिकजसो गाडी बिग्रने र दुर्घटनामा पर्ने गरेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१ बुधबार ००:००  ४ : १० बजे