६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

मेसीमाथि अर्जेन्टिनाको नजर



काठमाडौं।
विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा पाराग्वे र पेरुलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपमा आफ्नो स्थान बलियो बनाउने प्रयासमा छ।

गत अक्टोबरमा बोलिभियाविरुद्ध ६–० को जितमा ह्याट्रिक र दुई असिस्ट गरे पछि कप्तान लिओनल मेसीमाथि टोलीले त्यस्तै प्रदर्शनको आशा राखेको छ।

छनोटको आठ खेल बाँकी रहँदा अर्जेन्टिना २२ अंकसहित शीर्ष स्थानमा छ। यो टोलीले १० खेलमा सातमा जित हात पारेको छ भने एकमा बराबरीमा चित्त बुझाएको छ। अर्जेन्टिनालाई कोलम्बियाले पछ्याइरहेको छ।

समान खेल खेलेको कोलम्बिया १९ अंकसहित दोस्रो स्थानमा छ। उरुग्वे र ब्राजिल समान १६ तथा इक्वेडर र पाराग्वे समान १३ अंकसहित विश्वकपमा स्थान बनाउने दौडमा छन्। यो क्षेत्रबाट शीर्ष ६ टोलीले सिधैं विश्वकपमा स्थान बनाउने छन्। बाँकी एक टोलीले भने प्लेअफ खेल्नेछन्।

अर्जेन्टिनी प्रशिक्षक गुस्ताभो अल्फारोले वर्षको मध्यमा पदभार ग्रहण गरेयता पाराग्वे अपराजित रहेकाले अर्जेन्टिनाले थप चुनौतीका साथ असुन्सिओनको यात्रा गर्नेछ । गत सेप्टेम्बरमा पाराग्वेले ब्राजिललाई १–० ले हराएको थियो।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीलाई अन्तिम समयमा चोटले चिन्तित बनाएको थियो। तर, यसपल्ट भने अर्जेन्टिनाले डिफेन्समा केही परिवर्तन ल्याउन सक्छ। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लेस्टरसिटीमाथि ३–० को जित निकाल्दा लिसान्द्रो मार्टिनेजको पेटमा चोट लागेको थियो। स्कालोनीले जर्मेन पेजेलालाई पहिले नै गुमाइसकेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८१ बुधबार ००:००  १ : २२ बजे