६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

दैवीप्रकोप उद्धार कोषमा कांग्रेसले जम्मा गरेको ५० लाख गायब



काठमाडौँ ।

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सत्तारुढ नेपाली कांग्रेसले जम्मा गरेको ५० लाख रुपैयाँ गायब भएको छ। प्रधानमन्त्री कार्यालयले कार्तिक २६ गतेसम्म सहयोग गर्ने दाताहरूको सूची सार्वजनिक गरेको छ, जसमा कांग्रेसको नाम र सहयोग रकम उल्लेख छैन।

कांग्रेसले बाढी पहिरो पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि भनेर गत असोज २० गते दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्रीमार्फत ५० लाख रुपैयाँ जम्मा गरेको थियो। उक्त रकम अहिले गायब भएको हो।

यसबारे जिज्ञासा राख्दा कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल आफूहरूले दिइसकेको यसबारे प्रधानमन्त्री कार्यालयमै बुझ्न आग्रह गरे। उनले भने, ‘हामीले बाढीपहिरो पीडितका लागि भनेर दिइसकेका हौं। त्यसपछि थप के भयो त्यो उतै (प्रधानमन्त्री कार्यालय) बुझ्नु होला।’

त्यसपछि यसबारे प्रधानमन्त्री कार्यालयसँग बुझ्न पटक–पटक सम्पर्कको प्रयास गर्दा कोही पनि अधिकारी सम्पर्कमा आउन चाहेनन्।

दैवीप्रकोप उद्धार कोषमा हालसम्म ८६ दाता तथा विवरण नखुलेका अन्यबाट गरी कुल एक अर्ब ८९ करोड ३४ लाख ८१ हजार ४६७ रुपैयाँ जम्मा भएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८१ बुधबार ००:००  ८ : १६ बजे