८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

चारनम्बरमा प्लाष्टिकजन्य फोहर राख्ने आकर्षक फोहरदानी राखियो



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको चार नम्बर क्षेत्रमा विशेष डिजाइनको फोहोरदानी स्थापना गरिएको छ। बाणगंगाका प्रतिष्ठित समाजसेवी सागर श्रेष्ठ र युवा समाजसेवी शुशिल सिंह ठकुरी (गणेश)ले आफ्नो निजी खर्चमा यो नयाँ आकारको फोहोरदानी राखेका हुन्। चार नम्बरको तौलिहवा रोडको प्रवेशद्वारमै दायाँ र बायाँतिर यी फोहोरदानीहरू देख्न सकिन्छ। यी फोहोरदानीहरूमा नकुहिने प्लाष्टिकजन्य फोहोर र बोतल मात्र राख्नका लागि आग्रह गरिएको छ।

केही समयअघि श्रेष्ठ र ठकुरी भारतको केरला राज्य भ्रमणमा गएका थिए, जहाँ यसप्रकारको फोहोरदानी देखेर प्रेरित भई कपिलवस्तुमा यसको प्रतिलिपि ल्याएका हुन्। फलामका मसिना पाताहरूलाई जोडेर बनाइएको फोहोरदानीको भित्री भागमा जाली राखिएको छ, जसले पानी नजम्ने र कीटाणुहरू बस्न नपाउने बनाउँछ।

ठकुरी भन्छन्, ”यो फोहोरदानी सुन्दर देखिन्छ, पानी जम्मा हुँदैन, र झिँगा मच्छर बस्न पाउँदैनन्। फोटो खिचेर ल्याएका थियौँ र यहाँ ग्रिललाई डिजाइन देखाएपछि यस्तै सुन्दर फोहोरदानी तयार भयो। अब यो अभियान नगरभर फैलाउनेछौँ।” ठकुरी, जो श्रृंगीघाट सामुदायिक वनका अध्यक्ष समेत हुन्,ले वन क्षेत्रमा पनि यस्तै फोहोरदानी बनाउन सहयोग गर्ने बताए।

समाजसेवी श्रेष्ठका अनुसार, यो फोहोरदानी बनाउन केही महँगो भए पनि उपयोगी छ। सानो फोहोरदानीको लागत १५ हजार रुपैयाँ र ठुलोको लागत २० हजार रुपैयाँ परेको छ। ठकुरीले यो फोहोरदानीलाई आगामी कपिलवस्तु महोत्सवमा नमुनाको रूपमा प्रस्तुत गरिने जानकारी दिए।

पर्यावरणलाई स्वच्छ राख्न र प्लाष्टिकजन्य फोहोर व्यवस्थापनको सन्देश दिन हरियो रंगको फोहोरदानी बनाइएको श्रेष्ठ र ठकुरीले जानकारी दिएका छन्। सिद्धार्थ सामाजिक बिकास केन्द्रको टीम केरला भ्रमण गएको बेला कोची नगरमा यस्तै प्लास्टिकजन्य फोहोर राखने नयाँ तरिका देखिएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८१ मंगलबार ००:००  ७ : १० बजे