६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई रुपन्देही ल्याइदै



काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज रुपन्देही लगिँदैछ । लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत बुटवल लैजान लागिएको हो । आज नै बयान सकेर पोखरा फर्काउने तयारी छ ।

सहकारी ठगी र सङ्गठित अपराध कसूरमा गएको दुई गते पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासत छन् । उनलाई थप १३ दिन हिरासतमा राख्न अस्ति जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

रुपन्देही जिल्ला अदालतले बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा लगेर खर्च गरेको कसूरमा अनुसन्धान गर्न लामिछाने, जीबी राईसहित १२ जनालाई पक्राउ गर्न गएको कात्तिक ८ गते अनुमति दिएको थियो ।

रास्वपाका कार्यकर्ताले बुटवलमा प्रदर्शनको तयारीसमेत गरेका छन् । बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१ मंगलबार ००:००  ९ : ०४ बजे