६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

छत्रदेवको समग्र विकासमा उच्च अधिकारीसंग छलफल



कपिलबस्तु।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको समग्र विकासमा सरोकारवाला निकायहरूको विशेष चासो देखिएको छ। काठमाण्डौमा सम्पन्न सरोकारवालाको छलफलमा छत्रदेव गाउँपालिकाको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सडक, यातायात, विद्युत, खानेपानी, सिंचाई लगाएतका विषयमा चासो दिएका हुन् । छलफलमा पालिकाका पदाधिकारी, कर्मचारी तथा सरकारी निकायका उच्च अधिकारीकाे सहभागिता रहेको थियो। बैठकमा आधारभूत संरचना निर्माणदेखि स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनजस्ता क्षेत्रहरूको विकासका विषयमा महत्वपूर्ण छलफल भएको थियो ।
छत्रदेव गाउँपालिकाको समग्र विकासका लागि सरकार तथा अन्य साझेदारहरूको सहकार्य आवश्यक रहेको कुरा बैठकमा जोड दिइएको छ। गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले स्थानीय सरकारलाई आवश्यक परियोजनाहरूको आवश्यकता र प्रभावकारीता बढाउने उपायबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए । पालिकामा केही देखिने गरी पूर्वाधारको क्षेत्रमा काम भइरहेकाले पूर्णता दिन साझेदारीको अवधारणामा अघि बढ्नुपर्ने आवश्यकता रहेको अध्यक्ष श्रेष्ठले बताए ।
सरकारी निकायका उच्च अधिकारीहरु सम्मिलित सरोकारवालाहरूले स्थानीय सरकारको सेवा प्रवाह, पूर्वाधार विकास र जनताको चाहना अनुसारका योजनाहरु अघि बढाउनुपर्ने बताएका थिए । ग्रामीण स्तरमा भइरहेका प्रयास, योजनाको प्राथमिकता, विद्यमान समस्या र समाधानका उपायहरूमाथि समेत छलफल गरिएको छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताए । बैठकमा स्थानिय स्तरमा रोजगारी सिर्जना, पूर्वाधार निर्माण र नागरिक सुविधाको पहुँच सुनिश्चित गर्ने विषयमा योजनाहरू तयार पारिएको उल्लेख छ। सरोकारवाला निकायले आगामी दिनमा स्थानीय आवश्यकतासँग मेल खाने विकासका योजना तथा कार्यक्रममा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
छत्रदेव गाउँपालिकाको समन्वयमा आयोजना भएको छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्यद्धय डाक्टर जय बहादुर टण्डन, डाक्टर प्रकाश श्रेष्ठ, स्वास्थ्य बिमा बोर्डका सदस्य डाक्टर मुक्ति श्रेष्ठ, विर अस्पतालका सहायक डिन डाक्टर राजेन्द्र श्रेष्ठ, गाउँपालिका पूर्व अध्यक्ष लेखनाथ पोख्रेल, विभिन्न विषयत मन्त्रालयका प्रतिनिधी लगाएतले आ आफनो धारणा राखेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८१ सोमबार ००:००  ८ : २५ बजे