६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

इजरायलबाट फर्किएर ३५ बिघामा व्यवसायिक धान खेती



नवलपरासी ।
वैदेशिक रोजगारका लागि इजरायल गएका रामग्राम–५ का ४५ वर्षीय नरेश जयसवालले स्वदेश फर्किएपछि व्यावसायिक खेती गरिरहेका छन् । पाँच वर्ष इजरायल बसेर फर्केपछि उनले व्यावसायिक कृषि पेसा अंगालेका छन् । यसरी उनले खेतीपाती गर्न थालेको दुई वर्ष बितिसकेको छ ।

जीविकोपार्जन र आम्दानीका लागि विदेश जानुभन्दा स्वदेशमा कृषिकर्मबाट मनग्ये आम्दानी गर्न सकिने उनको अनुभव छ । उनले जग्गा भाडामा लिएर करिब ३५ बिघा जग्गामा धानखेती गरिरहेका छन् । यस वर्ष एक सय टन धान उत्पादन भएको जनाउँदै जयसवालले ३५ बिघामध्ये २९ बिघा भाडामा लिएको र बाँकी छ बिघा पैतृक सम्पत्ती रहेको बताए । सो जग्गामा सावित्री, रामधान, चैते–५ लगायत जातका धान लगाएका छन् ।

कृषि खेतीमा आफूलाई लुम्बिनी प्रदेश सरकार कृषि निर्देशनालयले गत वर्ष उत्कृष्ट कृषकका रूपमा जयसवाललाई ५१ हजारसहित पुरस्कार प्रदान गरेको थियो । पुरस्कारपछि आफूलाई थप हौसला मिलेको उनले बताए ।

बिउ उत्पादन गर्न जयसवालले नवलपरासीमा ‘आरोही सिड्स’ कम्पनी सञ्चालन गरेका छन् । उक्त कम्पनीबाट आधुनिक जातका धान, मकैलगायतका बिउ स्थानीयलाई उपलब्ध गराउँदै आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख डा रवीन्द्रनाथ चौबेले बताए ।

पछिल्लो समय यहाँका किसानको व्यावसायिक कृषिमा आकर्षण बढन थालेको पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदिश गुप्ताले बताए । केहीवर्ष अघिसम्म जीविकोपार्जनका लागि मात्र परम्परागत खेती गर्दै आएका यहाँका किसान अहिले व्यावसायिक खेतीमा आबद्ध हुन थालेका उनले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०८१ शनिबार ००:००  ५ : २० बजे