७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

बाग्लुङ – पूर्वी रुकुम सडक खण्डमा पाँचपटक म्याद थप्दा पनि काम नहुँदा समस्या



बाग्लुङ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बाग्लुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक निर्माण सम्पन्न हुन सकेको छैन ।

२०७३ साल जेठमा सडक कालोपत्र गर्न सम्झौता भएको थियो । अहिलेसम्म ७० प्रतिशत मात्रै काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरालले जानकारी दिनुभयो । २०७६ साल जेठसम्म काम सम्पन्न गर्नुपर्ने थियो ।

इन्जिनियर खरालका अनुसार निर्माण कम्पनीको अहिलेसम्म पाँचपटक म्याद थप गरिएको छ । अन्तिम पटक २०७९ भदौमा २०८० असारसम्मका लागि म्याद थप भए पनि त्यसयता निर्माण कम्पनीले काम नगरेको उहाँको भनाइ छ । म्याद सकिएको १६ महिनासम्म निर्माण कम्पनी काम गर्न नआएको इन्जिनियर खराल बताउनुहुन्छ ।

सडक कालोपत्र गर्न ४२ करोड ९९ लाख रुपैयाँमा सम्झौता भएको थियो । बाग्लुङ र रुकुम गाउँबीचको सडक कालोपत्र नहुँदा यात्रा गर्न समस्या हुने गरेको छ । सडक खाल्डाखुल्डी र साँघुरो हुँदा दुर्घटनाको जोखिम रहेको छ ।

सडक लामो समयसम्म कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलाम्मे हुने समस्या रहेको भूमे गाउँपालिका–१ का पृथमान गुरुङले बताउनुभयो ।

प्रकाशित मिति : २४ कार्तिक २०८१ शनिबार ००:००  ११ : ५९ बजे