७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

देउसीभैलो खेलेर क्याम्पसले उठायो ४० लाख रुपैयाँ



म्याग्दी ।

ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट ४० लाख रुपैयाँ संकलन गरेको छ।

मङ्गला गाउँपालिका २ बाबियाचौरको लाम्पाटामा रहेको क्याम्पसले सेवा क्षेत्रमा तिहारको अवसर पारेर देउसीभैलो कार्यक्रमबाट जुटेको उक्त रकम अक्षयकोषमा बचत गर्ने जनाएको छ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बुधबारसम्म देउसीभैलोबाट ४० लाख सहयोग जुटेको जानकारी दिए । ‘दुई करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित सञ्चालन भएको अभियानमा देउसीभैलोसहित हालसम्म ५३ लाख जुटेको छ’, उनले भने।

देउसीभैलोमा अमेरिका र बेलायतमा रहेका बाबियाचौरका एकैघरका दिदीबहिनी डा. रेखा रोका, डा. रञ्जना रोका र डा‍.स्वस्ती रोकाले एक लाख ९२ हजारका दरले पाँच लाख ७६ हजार सहयोग गरेका छन्। उनीहरू मङ्गला गाउँपालिका अध्यक्षसमेत रहेका क्याम्पसका सम्मानार्थ संरक्षक सत्प्रसाद रोका र क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष एवं आर्थिक सङ्कलन उपसमिति संयोजक यशोदा रोकाका छोरी हुन्।

देउसीभैलोका क्रममा रोका दिदीबहिनीबाट सबैभन्दा धेरै सहयोग प्राप्त भएको क्याम्पस प्रमुख प्रितमबहादुर खत्रीले जानकारी दिए।

मङ्गलामा रहेका तीन हजार ७०० घरबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा ‘भर्चुअल’ माध्यमबाट कोषमा सहयोग जुटाउने लक्ष्य पूरा नहुँदासम्म अभियान जारी राख्ने क्याम्पसले जनाएको छ।

अक्षयकोषको ब्याजबाट पूर्णकालीन प्राध्यापकलाई तलब, गुणस्तर सुनिश्चितता तथा प्रत्यायण प्रमाणपत्र (क्यूएए) प्रक्रियाका लागि पूर्वाधार तयार गर्न, गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन देउसीभैलो खेलेको जनाइएको छ।

म्याग्दीको पश्चिम क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाका कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सदरमुकाम वा जिल्लाबाहिर थप अध्ययनका लागि जानुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न क्याम्पसको पूर्वाधार अभियानमार्फत सङ्कलित आर्थिकबाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गासमेत खरिद गरी क्याम्पसको भवन, प्रशासनिक भवन, छात्रावाससहितको संरचनासमेत बनेको छ।

हाल यहाँ शिक्षाशास्त्र सङ्काय स्नातक तहमा २४० जना विद्यार्थी अध्ययनरत छन्। रासस

प्रकाशित मिति : २२ कार्तिक २०८१ बिहिबार ००:००  ७ : ३६ बजे