८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

उपविजेता बनेको महिला फुटवल टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने



काठमाण्डौ ।

सरकारले साफ महिला च्याम्पियनशिप २०२४ को उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ । टोलीका खेलाडीलाई जनही तीन लाख पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो बेलुका भएको फाइनलमा बङ्गलादेशसँग फाइनलमा २–१ ले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो । साफ महिला च्याम्पियनशिपमा नेपाल उपविजेता बनेको योसहित छैटौँ पटक हो ।

यस्तै मुख्य प्रशिक्षक राजेन्द्र तामाङलाई दुई लाख रुपैयाँ र व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजारका दरले पुरस्कार पाउने सदस्यसचिव घिसिङले बताउनुभयो ।

उपविजेता बनेको महिला फुटबल टोलीलाई काठमाण्डौ महानगरपालिकाले गएराति नै टोलीका हरेक खेलाडीलाई एक लाख र टिम ब्यवस्थापक, फिजियोलगायतलाई गरी २७ लाख ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१ बिहिबार ००:००  ४ : ३२ बजे