१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

समस्याग्रस्त सहकारीका ६ हजारभन्दा धेरै बचतकर्ताको बचत रकम फिर्ता



काठमाण्डौ ।

समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले अहिलेसम्म ६ हजार एक सय ५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ ।

त्यस्तै चार सय ३८ मागदावीकर्ताको आंशिक भुक्तानी भएको छ । शतप्रतिशत भुक्तानी भएका र आंशिक गरी अहिलेसम्म एक अर्ब ५१ करोड ५३ लाख ३६ हजार भुक्तानी गरिएको हो । समस्याग्रस्त घोषणा भएका २२ वटा सहकारीमध्ये अहिलेसम्म तीनवटा सहकारीको मागदावीकर्ताको रकम फिर्ता गरी राफसाफ भएको छ ।

समितिका अध्यक्ष श्रीमणकुमार गौतमले समस्याग्रस्त तीन वटा सहकारीका पीडितको बचत फिर्ता गरी हिसाब राफसाफ गरेपछि बाँकी १९ वटाको समस्या समाधानका लागि काम भइरहेको बताउनुभयो ।

चालु आर्थिक वर्षको अन्त्यसम्म अन्य नौ वटा सहकारीका मागदावीकर्ताको पनि बचत रकम राफसाफ गर्ने तयारी भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

समस्याग्रस्त सहकारीका ६२ हजार ७ सय भन्दा धेरै सदस्य छन् । उनीहरुको मागदाबी ४० अर्ब रुपैयाँ भन्दा धेरै छ । तर अहिलेसम्म डेढ अर्ब मात्रै फिर्ता भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीबाट समस्यामा परेकाको समस्या समाधानका लागि कानुन संशोधनको तयारी गरिएको समेत जानकारी दिनुभएको छ । ऋण नतिर्ने र एकाघरका परिवारका सदस्यको सम्पत्ति र राहदानी रोक्का गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

मन्त्रालयले अन्य केही सहकारीलाई पनि समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको छ । बाँकी १९ वटा सहकारीका ऋणीलाई भोलि कात्तिक १५ गतेसम्म लिएको ऋण चुक्ता गर्न सूचना प्रकाशन गरिएको छ । ऋण नतिर्ने ऋणीका परिवारका सदस्यको सम्पत्ति र राहदानी तिहारपछि नै रोक्का गर्ने तयारी छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१ बुधबार ००:००  ९ : ४० बजे