१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

देश विकासको अभियानमा सघाउन अर्थमन्त्री पौडेलको आग्रह



काठमाडौं ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल मुलुकको राजनीतिक स्थायित्वका निम्ति एमाले र कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गरेका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा अमेरिकामा रहेका मन्त्री पौडेलले नेपाली राजदूतावासले प्रवासी नेपालीसँग आयोजना गरेको छलफलमा मातृभूमिको विकासका निम्ति लगानीका माध्यमबाट सघाउन आग्रह गरे ।

‘वर्तमान सरकारको उद्देश्य जनचाहनाअनुसार विकास गर्दै समृद्धिको मार्गमा अघि बढ्नु हो, त्यहीअनुरुप काम गरिरहेका छौँ,’ उनले भने । उनले ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा लगानीका पर्याप्त अवसर भएकाले यहाँ आर्जन गरेको सीप, पुँजी र ज्ञानलाई नेपालमा उपयोग गर्न सुझाए ।

उनले लगानीकर्तालाई सरकारले प्राथमिकताका साथ सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । अर्थमन्त्रीले सहभागीका जिज्ञासाको जवाफ दिँदै नेपालमा लगानीको वातावरण र प्रतिफल प्राप्तिको सुनिश्चितता भएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अधिक पुँजी आवश्यक परेकाले गैरआवासीय नेपालीको सहयोग आवश्यक भएको बताए ।

छलफलका सहभागीहरूले नेपालको कर प्रणाली, लगानीमैत्री वातावरण, कर्मचारी संयन्त्रको कार्यसम्पादन र प्रविधिबारे जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०८१ आइतबार ००:००  ११ : २८ बजे