१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

बैरिया युवा समाजद्धारा ३ लाख बढि रकम हस्तान्तरण



मायादेवी अनलाइन, वाणगंगा ।
बैरिया युवा समाजले यस वर्षको विजया दशमीमा बाणगङ्गा नगरपालिका १ स्थित नवदुर्गा भगवती मन्दिरमा विशेष पूजा, भजन, सराय नाच तथा अन्य धार्मिक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न गरेको छ। समाजले स्थानीय स्तरबाट ५ लाख ६५ हजार ५ सय ५६ रुपैयाँ संकलन गरेको थियो । जसमध्ये ३ लाख ४ हजार ५ सय २१ रुपैयाँ बचत मन्दिर समितिलाई हस्तान्तरण गरिएको हाे। यस अवधीमा विजया दशमी लक्षित कार्यक्रम, सराय र सम्मान कार्यक्रममा भएको खर्च सार्वजनिक गरिएको थियो । बैरिया युवा समाजले मन्दिर व्यवस्थापन समितिको समन्वयमा विशेष कार्यक्रमको लागि स्थानीय स्तरमा संकलन गरेको सहयोग रकम एक समारोहबीच हस्तान्तरण गरेको थियो ।

समाजका कोषाध्यक्ष श्याम क्षेत्रीले संकलित रकमबारे जानकारी गराउँदै मन्दिरको संरक्षण र यस क्षेत्रको सांस्कृतिक परम्परा जगेर्नाका लागि रकम उपयोग हुने बताए। समाजले दशैंको नवरात्रि भरि विभिन्न धार्मिक क्रियाकलापहरू, भजन कीर्तन, सराय नाच तथा सहयोगी, दाताहरूको सम्मान कार्यक्रम गरेको थियो ।

समाजका अध्यक्ष विष्णु घिमिरेले परम्परागत संस्कृति संरक्षण र यसको प्रवर्धनका लागि समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। समाजका उपाध्यक्ष राजु पन्थले युवाहरूको भूमिकालाई सराहना गर्दै समाजको विकासमा यस्ता रचनात्मक कार्यहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाए। दुर्गा मन्दिर समितिका अध्यक्ष चेत नारायण कडेलले युवाहरूको योगदानप्रति आभार प्रकट गर्दै धन्यवाद संगै प्रशंसा समेत गरेका थिए।

नवदुर्गा भगवती मन्दिर र बैरिया युवा समाजले संयुक्त रुपमा गरिएको यस कार्यक्रमले स्थानीय स्तरमा मौलिक संस्कृति संरक्षण, विकास यसको महत्वबारे सकारात्मक सन्देश प्रवाह गरेको छ। युव समाजले आगामी दिनमा विभिन्न सामाजिक कार्यमा अगुवाई गर्ने बताइएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१ आइतबार ००:००  ८ : ५६ बजे