१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

असोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे



काठमाण्डौ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । अघिल्लो महिना असोजमा आठ हजार नौ सय दुई जना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

यी पर्यटकबाट निकुञ्जले दुई करोड तीन लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपालीबाट एक सय, सार्क देशबाट एक हजार पाँच सय र अन्य देशका पर्यटकबाट तीन हजार प्रवेश शुल्क लिने गरेको छ ।

चालु आर्थिक वर्ष २०८१र८२ को साउनमा एक सय २५ तथा भदौमा एक हजार तीन सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । यतिबेला पर्यटनका लागि ‘सिजन’ नै चलिरहेकाले पर्यटकको सङ्ख्या बढेको हो ।

सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाण्डौ र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टरमार्फत् लुक्ला पुग्ने गर्छन् । कतिपय सडकमार्ग हुँदै सल्लेरीबाट लुक्ला पुग्ने गर्छन् ।फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।

यसैबीच पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन बढेको छ । बितेका दुई महिनामा काँकडभिट्टाबाट आठ सय ९० जना तेस्रो देशका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । कोरोना महामारीपछि चार वर्षसम्म अवरुद्ध रहेको पर्यटक आवागमन दुई महिनाअघि मात्र खुल्ला भएको थियो ।

सेप्टेम्बरमा दुई सय ८७ जना र अक्टोबरमा ६ सय तीन जना तेस्रो देशबाट नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताउनुभयो । नेपालको निरन्तर दबाबपछि गएको अगस्टदेखि तेस्रो देशका नागरिकको आवतजावतका लागि भारतले नाका खुला गरेको हो । रासस

प्रकाशित मिति : १० कार्तिक २०८१ शनिबार ००:००  ९ : ४७ बजे