९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा संचालित एकीकृत तर्जुमा कार्यशाला सम्पन्न



बाबुराम रायमाझी, जितपुर ।

स्ष्ट्रोमा फाउन्डेसन नेपालको सहयोगमा, वाणगंगा नगरपालिकाको समन्वय र सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा २ दिने एकीकृत तर्जुमा कार्यशाला सम्पन्न भएको छ ।
वाणगंगा नगरपालिकाका वडा नम्बर ७, ८, र ९ मा ५ बर्षे एकीकृत कार्ययोजनाका लागि उत्थानशील समुदाय विकासका लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सबलीकरण कार्यक्रम अन्तर्गत दुईदिने एकीकृत तर्जुमा कार्यशाला सम्पन्न भएको हो।
कार्यशाला वाणगंगाको जितपुरस्थित माछापुछ्रे होटेलमा आयोजना गरिएको थियो। यो कार्यक्रम रोजगारी सिर्जना, जीविकोपार्जन सुधार, र पछाडि परेका सिमान्तकृत तथा विपन्न वर्गको उत्थानमा केन्द्रित रहेको थियो ।

कार्यक्रमको उद्घाटन वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले गरेका थिए। उनले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका सिमान्तकृत वर्गलाई लक्षित गरी आएको यस परियोजनाले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै सिद्धार्थ सामाजिक विकास केन्द्रलाई विशेष धन्यवाद दिए। उनले नगरपालिकाको तर्फबाट पनि यस किसिमका परियोजनामा समन्वय र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम निर्देशक प्रकाश घिमिरे, कार्यक्रम संयोजक आर टि खान,वडा नं. ९ का अध्यक्ष कमल पौडेल, वडा नं. ७ का अध्यक्ष विष्णु गिरि लगायतका वक्ताहरूले तालिमको महत्वबारे धारणा राखे।
उनीहरूले यस तालिमले समुदायलाई प्रत्यक्ष रूपमा लाभ दिने र सशक्तिकरणको दिशा प्रदान गर्ने विश्वास व्यक्त गरे। सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष तेज प्रसाद आचार्यले सहभागी सबैमा धन्यवाद दिएका थिए भने सहजकर्ताको भूमिका समीक्षा भट्टराईले निर्वाह गरेकि थिइन् ।

तालिममा स्थानीय जनप्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, सहकारी संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका सदस्यहरू, कृषि समूहका प्रतिनिधि र वाणगंगा नगरपालिकाको पशु तथा कृषि शाखाका कर्मचारी सहभागी भएका थिए।
यस दुईदिने कार्यशालाले सहभागीहरूलाई समावेशी आर्थिक गतिविधिहरू र शिक्षा सबलीकरणका विभिन्न रणनीतिहरूमा प्रशिक्षित गर्दै आगामी ५ वर्षको योजना निर्माणमा मार्गदर्शन दिएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८१ शुक्रबार ००:००  ६ : ०४ बजे