८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

नब्बे वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय



डडेलधुरा ।
सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ । तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका– १, भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रूपमा सक्रिय छन् । यो उमेरमा उनी व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

उनले ४० रोपनी जग्गामा तरकारीखेती गरेका छन् । तरकारीबाटै वार्षिक १० लाख रुपैयाँ आम्दानी लिने गरेको उनले बताए । विगत ३० वर्षदेखि भट्ट खसीबाख्रा र भैँसीपालन गर्दै आएका छन् । हाल उनको गोठमा ५० वटा खसीबाख्रा छन् । तीनवटा उन्नत जातका भैँसी छन् । घरका भित्ताभरि माहुरीका आधुनिक तथा परम्परागत घार छन् । आँगनको कुनामा खरायोका खोर छन् ।

कृषि पेसामै सक्रिय भएकाले आफू निरोगी भएको उनी बताउँछन् । ‘सानैदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिनँ,’ उनी भन्छन्, ‘यही काम गर्दागर्दै मर्न परोस्, अरु मलाई केही चाहिएन ।’

खेती र पशुपालनबाटै आर्थिक रूपमा सम्पन्न उनले गाउँघरका छिमेकीलाई सङ्कट पर्दा सरसापटी दिने गर्छन् । उनको जाँगर देख्ने जोकोहीले प्रेरणा लिने गरेको स्थानीय दुर्गा भट्टले बताए ।

उनले व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेदेखि हालसम्म सरकारी अनुदान लिएका छैनन् । तर माहुरीका लागि भने केही अनुदान पाए सहज हुने र हौसला मिल्ने आशामा छन् ।

भट्टको अनुभवमा पछिल्लो समयमा हावापानीमा देखिएको परिवर्तनले धेरै असर गरेको छ । बजारमा पाइने नयाँ बिउ, मल, विषादीले पनि असर गरेको उनको अनुभव छ । पहिले–पहिले पाँच किलोसम्मको काउली उत्पादन हुने उहाँको बारीमा आजभोलि त्यत्रो काउली फल्दैन । पहिलेको परिमाणमा भैँसीले दिने दूध नै घटेको उनी बताउँछन् । ‘कतै पछिल्लो समयमा आएका यी विकासे घाँसले दूधको उत्पादन घटाएको त होइन ?’, उनले भने ।

देशमै व्यावसायिक कृषि गर्न सके केही हदसम्म रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ । आफ्नै देशमा पसिना बगाउन सके सोहीअनुसार फल प्राप्त गर्न सकिने उनको सुझाव छ । रासस

प्रकाशित मिति : ८ कार्तिक २०८१ बिहिबार ००:००  २ : ३९ बजे