८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

पोखरामा प्रदर्शन गर्ने प्रत्येक व्यक्ति कसुरदार हुन् : एमाले



काठमाडौँ ।
सत्ता नेतृत्व दल नेकपा एमालेले पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका संस्था र व्यक्तिहरूका तर्फबाट भइरहेको आवान्छित गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

एमालेले बिहीबार एक विज्ञप्तिमार्फत राष्ट्र सेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जना भन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर भएको उल्लेख गरेको छ। यस्ता भेलामा सहभागी नहुन प्रहरीले गरेको अनुरोधको अवज्ञा गर्ने प्रत्येक व्यक्ति कसुरदार मानिने कानुनी व्यवस्था भएतर्फ सवै पक्ष सचेत हुनुपर्ने उल्लेख छ ।

‘सरकार र त्यसको नेतृत्वलाई जोडेर चर्चा गर्नु, अनुसन्धान र अभियोजन प्रक्रियालाई अनुचित प्रभाव पार्ने कार्य न्यायिक दृष्टिकोणबाट अनुपयुक्त हो । संविधानले प्रत्येक नागरिकलाई संविधान र कानुनको पालना गर्नुपर्ने भनी नागरिकका कर्तव्य पहिचान गरेको छ र सबैले कानुनको पालना गर्नु र गराउनु पर्दछ । मुलुकी अपराध संहिताले सार्वजनिक पद धारण गरेको व्यक्तिले कर्तव्य पालना गर्ने क्रममा कसैले बाधा पुर्‍याउने वा निजलाई कुनै गैरकानुनी काम गर्न लगाउने नियतले कुनै काम गरेमा त्यस्तो कार्यलाई दण्डनीय मानेको छ ।

राष्ट्र सेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जना भन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर हो । यस्तो कसुरमा सङ्घीय संसद्को सदस्य उपस्थिति हुन र यस्तो कसुर गर्न अरूलाई उक्साउनु पूर्णत गैरकानुनी कार्य हो । यस्तो भेलामा सहभागी नहुन प्रहरीले गरेको अनुरोधको अवज्ञा गर्ने प्रत्येक व्यक्ति कसुरदार मानिने कानुनी व्यवस्था भए तर्फ सवै पक्ष सचेत हुनुपर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१ बिहिबार ००:००  १ : ०३ बजे