६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

धोनीले आइपिएल खेल्नेबारे अझै अनिश्चित



काठमाडौं।

चेन्नई सुपर किङ्सका प्रमुख कार्यकारी अधिकृत काशी विश्वनाथनका अनुसार महेन्द्रसिंह धोनीले आइपिएल २०२५ मा खेल्नेबारे अहिलेसम्म पुष्टि गरेका छैनन्।

विश्वनाथनले भने, ‘हामीलाई अझै पनि उनीहरूको बारेमा स्पष्ट जानकारी छैन। आशा छ, उनले अक्टोबर ३१ अघि नै यसको पुष्टि गर्नेछन्।’

आइपिएलका सबै फ्रेन्चाइजीले ३१ अक्टोबरसम्म खेलाडी रिटेन गरिसक्नुपर्नेछ। चेन्नईले धोनीलाई अनक्याप्ड खेलाडीको रूपमा कायम राख्न सक्छ। आइपिएलको रिटेन्सन नियममा गरिएको परिवर्तनपछि यो सम्भव भएको हो, जसअन्तर्गत आइपिएलले सन् २०२१ मा खारेज गरिएको नियम फिर्ता ल्याउने निर्णय गरेको थियो।

यो नियमअनुसार यदि कुनै खेलाडीले पाँच वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको छ भने उसलाई अनक्याप्ड खेलाडीको रूपमा रिटेन गर्न सकिन्छ।

धोनीले पछिल्लो पटक सन् २०१९ को विश्वकपको सेमिफाइनलमा भारतका लागि खेलेका थिए र अगस्ट २०२० मा सन्न्यास घोषणा गरेका थिए। आइपिएलबाहेक उनी अन्य कुनै पनि प्रतियोगितामा खेल्दैनन्। सन् २०२४ को सिजनमा रुतुराज गायकवाडलाई चेन्नईको बागडोर सुम्पेपछि उनले १६१ को स्ट्राइक रेटमा २२० रन बनाएका थिए।

धोनीलाई रिटेन गर्दा १२० करोड भारुको अक्सन पर्सबाट चार करोड भारु मात्र खर्च हुनेछ। त्यसैले चेन्नईले धोनीलाई रिटेन गर्ने प्रबल सम्भावना छ।

आइपिएलका फ्रेन्चाइजीहरूले मेगा अक्सनअघि बढीमा ६ जना खेलाडीलाई रिटेन गर्न सक्नेछन् भने बढीमा ५ जना अन्तर्राष्ट्रिय खेलाडीलाई रिटेन गर्न पाइनेछ। आइपिएलले खेलाडीको रिटेन्सनसम्बन्धी न्यूनतम रकम पनि निर्धारण गरेको छ। जसअनुसार पहिलो रिटेन्सनका लागि १८ करोड, दोस्रो रिटेन्सनका लागि १४ करोड, तेस्रो रिटेन्सनका लागि ११ करोड र चौथो र पाँचौं रिटेन्सनका लागि क्रमशः १८ करोड र १४ करोड भारु खर्च गर्नुपर्नेछ।

उदाहरणका लागि सनराइजर्स हैदरावादले हेनरिक क्लासेनलाई २३ करोड भारुमा रिटेन गर्न लागेको छ भने प्याट कमिन्स र अभिषेक शर्मालाई रिटेन गर्न क्रमशः १८ र १४ करोड भारु खर्च गर्नेछ।

प्रकाशित मिति : ६ कार्तिक २०८१ मंगलबार ००:००  १२ : ०० बजे