६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

सरकारलाई पूर्णता दिने तयारीमा लुम्बनीका मुख्यमन्त्री आचार्य



दाङ ।
लुम्बिनी सरकार गठन भएको झन्डै तीन महिनापछि पूर्णता दिने तयारी भएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यले एक, दुई दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी तयारी थालेका हुन्।

लुम्बिनीमा अझै चार मन्त्रालय अझै खाली छ। खाली रहेका मन्त्रालय मुख्यमन्त्री आचार्यले नै सम्हाल्दै आएका छन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभ्ने निर्णय गरेको थियो।

बैठकले युवा तथा खेलकुद मन्त्रालयलाई भने सामाजिक विकास मन्त्रालयबाट अलग्याउने निर्णय गरेको थियो।

सकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले प्रदेश मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीअन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय गाभ्ने र युवा तथा खेलकुद मन्त्रालय भने अलग बनाउने निर्णय गरेको बताए।

एमालेले मुख्यन्त्रीसहित पाँच मन्त्रालय लिएर सरकारमा रहँदा कांग्रेसका तीन जनामात्रै मन्त्री छन्।

लुम्बिनी सरकारमा प्रचण्ड बिक्रम न्यौंपाने (गुन्टु) पर्यटन, यातायात तथा उद्योग मन्त्री, सरोज थापा (रोज राणा) सहरी विकास तथा खानेपानी मन्त्री र धर्मेन्द्र कार्की आर्थिक मामिला तथा योजना मन्त्री छन्।

निर्मला कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेपछि कांग्रेस सांसद बादशाह कुर्मीले वन तथा वातावरण मन्त्री पदबाट राजीनामा दिएका थिए।

रिक्त रहेकोमध्ये दुई एक मन्त्रालय कांग्रेसले पाउने छ। त्यसो हुँदा यसपालि बर्दियाका सांसद जन्मजय तिमिल्सिना मन्त्री बन्ने निश्चित रहेको कांग्रेसका एक मन्त्रीले बताए।

साउनमा मन्त्रीको सपथ ग्रहण गर्न बोलाएर अन्तिममा नाम हटेपछि उनी रुष्ट भएका थिए। यसपालि उनी मन्त्री बन्ने पक्कापक्की भएको ती मन्त्रीले बताए। ‘मन्त्रालयको टुंगो लाग्न मात्रै बाँकी हो, संभवत उहाँ सामाजिक विकास मन्त्री बन्नुहुन्छ,’ ती मन्त्रीले भने।

कांग्रेसबाट मन्त्री बन्नेमा नवलपरासीका सांसद देवकरणप्रसाद कलवारको पनि चर्चा छ। कलवार वनमन्त्री बन्ने चर्चा छ।

लुम्बिनीमा अरू दलहरूलाई पनि सरकारमा ल्याउने मुख्यमन्त्रीको तयारी छ। मुख्यमन्त्री आचार्यले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र नागरिक उन्मुक्तिलाई पनि सरकारमा ल्याउनेबारे छलफल चलाइरहेका छन्।

जसपाबाट आदेश अग्रवाल मन्त्री बन्ने चर्चा छ। उनलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मवारी दिने तयारी रहेको कांग्रेसका ती मन्त्रीले जानकारी दिए।

त्यस्तै युवा खेलकुद मन्त्रालयका नागरिक उन्मुक्ती पार्टीबाट बर्दियाका राजकुमार चौधरीलाई दिने भन्ने लगभग सहमति भइसकेको पनि जानकारी दिए। यसबारेमा साना दलहरूसँग पनि छलफल गरेर अगाडि बढ्ने मुख्यमन्त्रीको तयारी छ।

प्रकाशित मिति : ५ कार्तिक २०८१ सोमबार ००:००  ४ : २२ बजे